हिमाल दैनिक
अर्थमन्त्रीमाथि रिजालको व्यंग्यवाणः राजनीतिक भवितव्यको सन्त्रासमा बजेट पर्यो
rijalvskhatiwada-01
सरकारका अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा एकपछि अर्को गम्भिर त्रुटि देखिएपछि विपक्षी दल नेपाली कांग्रेसका नेता तथा छायाँ सरकारका अर्थमन्त्री मीनेन्द्रप्रसाद रिजालले त्यसलाई सच्याउने क्रममा अर्थमन्त्री खतिवडाको क्षमतामाथि नै गम्भिर प्रश्न खडा गरिदिएका छन्। आइतबार बजेटमा २२ अर्ब राजस्व सम्बन्धी अंक बढि भएको भनेपछि अर्थमन्त्री खतिवडाले मेसिनले गर्नु पर्ने काम हातले गर्दा भवितव्यमा त्रुटि भयो भन्दै सच्याएको जानकारी दिएकै भोलिपल्ट थप १११ अर्ब राजस्वको अंकमा त्रुटि देखाएर रिजालले खतिवडालाई पानी पानी बनाइदिए। हिँजोको जवाफमा पनि केही कुरा अर्थमन्त्रीको जवाफमा चित्तबुझे पनि केही बाँकी रहेको बताउँदै त्यसलाई आफूले विवाद बढाउन नचाहेको भन्दै आजको बैठकमा अर्को बुँदामा तथ्यांक त्रुटि भएको बताए। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै रिजालले भने, ‘विवाद गर्न मैले यसकारण चाहिन कि अर्थमन्त्रीजीले भनेजस्तै राजनीतिक भवितव्यको सन्त्रासमा बजेटका तालिका, अनुसूचिहरु कताकता भवितव्यमा परेका छन्। अहिले बल्ल अनुसूचि २ मा पुगियो बजेटमा छलफल गर्दै जाने क्रममा अरु कहाँ कहाँ त्रुटि फेला पर्ने हो टुंगो छैन। भवितव्यमा नपरोस्, राजनीतिक सन्त्रास नलिनुहोस्, त्यो नलिने जिम्मा विपक्षको होइन।’ रिजालले बुदाँ नम्बर र अनुसूचिको बजेट अंक तालिका समेत केलाएर व्यंग्य गरेपछि आफूभन्दा अगाडिको सिटमा बसेका उर्जामन्त्री वर्षमान पुनले फर्केर हेर्दा अर्थमन्त्री खतिवडा हाँस्ने कि के गर्ने भनेजस्तो अवस्थामा पुगे। रिजालले बुदा नम्बर २९५ मा कर प्रणालीमा संरचनात्मक परिवर्तन गरी भन्ने विषयमा कर प्रणालीलाई संरचनात्मक परिवर्तन गर्ने कुरामा ख नम्बर बुदामा कर छली र चुहावट नियन्त्रण गरी कर आधार फराकिलो बनाउने उल्लेख गरेको बताए। ‘त्यस्तै घ मा कर सहभागीता अभिवृद्धि गर्ने भन्ने छ। ङ मा थप राजस्व परिचालन गर्ने भन्ने छ। त्यो विषयसँग जोडिएको अनुसूचि २ को पछिल्ला दुई कलममा वर्तमान स्रोतबाट र कर परिवर्तन र प्रशासनीक सुधारबाट भन्नेमा कर परिवर्तन र प्रशासनिक सुधारसँग सिधै यो कुरा जोडिन्छ,’ उनले भने। त्यसैले कर परिवर्तन र प्रशासनिक सुधारबाट अन्त्यमा ५५ अर्ब ५९ करोड रुपैयाँ थप आउँछ भनिएको बताउँदै उनले वर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनु पर्ने बताए। वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुने भनिएको छ भन्दै उनले त्यो भन्दा अगाडिको कलममा जोड्नुको सट्टा घटाएर ०७६÷०७७ को लक्ष्यमा ११ खर्ब १२ अर्ब राखिएको बताए। ‘नयाँ संरचना परिवर्तनबाट कर थपिने हो कि राजस्व घट्ने हो? घट्ने हो भने त घटाएको मिल्यो तर, अन्यथा नयाँ परिवर्तनबाट थपिने हो भने यहाँ जोडिनु पथ्र्यो। त्यो जोडिदा १२ खर्ब २३ अर्ब हुन्छ। यसमा स्थानीय तह र प्रदेशलाई दिने रकम छुट्याउँदा १० खर्ब ९२ अर्ब हुन्छ। सरकारले सर्वसञ्चित कोषमा दाखिला हुन्छ भनेको ९९१ अर्ब भन्दा यो १११ अर्ब बढि हो। यसरी १११ अर्ब थप राजस्व परिचालन हुने हो भने हामीले आन्तरिक ऋणपनि ८३ अर्ब ८० करोड भन्दा बढि उठाउनु पर्ने खण्ड छ। यो सामान्य त्रुटि होइन। हामीले करका दर परिवर्तन गरेर राजस्व बढाउँदै छौँ कि घटाउँदै छौँ? अर्थमन्त्रीजीबाट यसको जानकारी आवश्यक छ।’ बढाउँदै हो भने त्यस अनुसार राजस्व प्रभावित हुन्छ। राजस्व प्रभावित भएपछि जुन पूरै प्रभावित भएपछि यो सदनभित्र हुने छलफलको कुनै औचित्य नहुने उनले बताए। राजस्वको आयको अनुमान छैन भने त्यसका आधारमा बनेको बजेटमाथिको छलफल ठिक हुन सक्दछ? भन्ने प्रश्न गर्दै होइन करमा परिवर्तन र प्रशासनिक सुधार गरेर कर छुट पाउने र राजस्व घट्ने हो भने त्यसबाट कस्तो सुधार आउला? त्यो बुझ्न सकिएन। मैले गम्भिरतापूर्वक ध्यानार्कषण गर्छु कि बजेट राजस्व र व्ययको अनुमानमाथिको छलफल यो विषय स्पष्ट नभइकन अगाडि बढ्न सकिदैन। त्यसपछि सभामुख कृष्णबहादुर महराले रिजालले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सम्बन्धीत मन्त्रीको पनि ध्यानाकर्षण गराएको भन्दै कारबाही अघि बढाए।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update