प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि असार १ गतेसम्म तीन देशको भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको पहिलो भ्रमण स्वीटजरल्याण्डको जेनेभामा हुने जानकारी दिए।
जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको १००औं वार्षिकोत्सव दिवस कार्यक्रमलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए । त्यसपछि जेठ २७, २८ र २९ गते प्रधानमन्त्री ओलीले बेलायतको भ्रमण गर्ने कार्यक्रम छ ।
पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले असार १४ गते मन्त्रालयले विदेश नीतिबारे सुझाव संकलन गर्न कार्यक्रम आयोजना गर्न लागेको जानकारी पनि दिए। उक्त सम्मेलनमा विगतमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भनेर भएका अध्ययनप्रतिवेदन लगायतका विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताए।
त्यस्तै उनले नेपाल अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउदै लैजानै भन्दै दुईमलुकबीच कुनै असमझदारी नरहेको जिकिर गरे।
यस्तै परराष्ट्र मन्त्रालयले केही समय अघि सुरु गरेको ब्रेनगेन कार्यक्रममा विदेशमा बस्ने ५ सय जना नेपालीहरुले नाम दर्ता गराएको र त्यसमा ५ हजारको नाम दर्ता हुने अनुमान रहेको जानकारी गराएको छ । उनले हालै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट भएका केहि मुलुकको भ्रमण फलदायी रहेको जानकारी पनि दिए।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय