![नेकपाभित्रै ओलीको दिनगन्ती सुरु, गजुरेलले भनेः अबको प्रधानमन्त्री दाहाल](https://himaldainik.com/wp-content/uploads/2019/05/haribol-gajuel-e1559392169177.jpg)
स्थिर र बलियो सरकारको नारा दिएर झण्डै दुई तिहाई बहुमतको सरकार चलाइरहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दिनगन्ति सुरु भएको छ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन विदेश निस्किनै लागेको बेला द्धितीय अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरणपूर्व दुई नेताबीच सत्ता र पार्टी सञ्चालनमा आलोपालोको सहमति भएको बताएपछि उक्त दलभित्र आन्तरिक मतभेद चर्किँदै गएको छ।
फलस्वरुप प्रधानमन्त्री ओलीले शुक्रबार दिल्लीस्थित नेपाली दूतावासबाटै व्यंग्यात्मक शैलीमा आक्रोस व्यत्तः गरेको भोलिपल्ट शनिबार नेकपाका नेता एवं सांसद हरिवोल गजुरेलले अध्यक्षद्धयबीच आलोपालो पार्टी र सरकार चलाउने कुरा पूरानै सहमति भएको स्पष्ट पारे।
गजुरेलले भने, ‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेका कुरा हुन्। उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ। आलोपालोमा सहमति भैसकेको छ।’ उनले सहमति बमोजिम नै अब दाहाल प्रधानमन्त्री बन्ने घोषणा गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि हुन लागेको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन निस्केकै बेला नेकपाका द्धितीय अध्यक्ष दाहालले दुई नेताबीच सत्ता सञ्चालनको विषयमा आलोपालो गर्ने सहमति बमोजिम ओलीले आफूलाई सरकारको नेतृत्व दिने कुरा सार्वजनिक गरेपछि सरकार र सत्तारुढ दलभित्र आन्तरिक तिक्तता बढेको छ।
उनले दुई पार्टी एकता गराउन दुबै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए। ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ,’ उनले थपे।
नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाई छ। उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए।
उनले भने, ‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ। मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ।’
यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ। तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे। उनले भने, ‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर, व्यवहारमा त्यस्तो देखिएन। कृषि क्षेत्र प्राथमिकतामा नै परेन।’
त्यस्तै, सहीद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी थियो। उनले भने, ‘के सहिद परिवारलाई दश लाख दिँदैमा अब दायित्व पूरा भएको हो त?’
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय