प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सांसद नारायण खड्काले बजेटमा निर्वाचन क्षेत्र विकास कोषका लागि सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ सम्बन्धी व्यवस्था स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पुर्याउनुपर्ने आवश्यकत्ता औंल्याए।
पार्टीको आधिकारिक लाइन सांसद विकास कोषका लागि बजेट दिने कुराको विपक्षमा भएपनि कांग्रेसको छायाँ सरकारको परराष्ट्र मन्त्रीका रुपमा रहेका नेता खड्काले रिपोर्टर्स क्लबमा शनिबार पार्टी नीति विपरित सरकारी निर्णयको पक्षपोषण गरे।
उनले भने, ‘सांसदलाई पैसा दिने कुरा ठीक छ। यो गर्नुपर्छ। सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ।’
अमेरिका, भारत लगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको उदाहरण दिँदै उनले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको पनि जिकिर गरे।
उनले भने, ‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन्।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ।
उनले आर्थिक क्रियाकलापको आधार कमजोर भएको स्पष्ट पारेका छन्। सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्वको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे।
पुँजीगत खर्च ४५ प्रतिशतभन्दा बढि हुन नसकेकोमा खड्काले चिन्ता व्यक्त गरे।
उनले भने, ‘हामीले प्राप्त गरेको मन्त्रालयगत पुँजीगत खर्चको विवरण हेर्दा ४५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ। अरुभन्दा कम खर्च अर्थ मन्त्रालयको देखिएको छ, एकदमै कम छ।’
खड्काले सामाजिक सुरक्षाको दायित्व बढि भएको भन्दै भेनेजुएलाको जस्तै अवस्था आउनसक्ने खतरा पनि औंल्याए। पछिल्लो दश महिनामा ११ खर्बको व्यापार घाटा रहेको तथ्यांक सुनाउँदै खड्काले बजेट कार्यान्वयनमा पनि समस्या रहेको बताए।
३५ अर्बभन्दा बढिको चामल आयात हुने गरेको सुनाउँदै उनले कृषिजन्य सामान त १ खर्ब हाराहारीमा आयत हुने गरेको पनि सुनाए। उनले भने, ‘नेपालको अर्थतन्त्र लाहुरे खालको छ।’
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय