हिमाल दैनिक
पर्यटनमन्त्री भट्टराइद्धारा नयाँ अभ्यासको थालनी, विपक्षी दलको नेतासँग परामर्श गर्न पुगे बुढानिलकण्ठ
Yogesh and Deuba
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सम्भवत् पहिलो मन्त्री हुन् जसले मन्त्री भएपछि प्रमुख प्रतिपक्षी दलको नेतालाई भेट गरी आफ्नो मन्त्रालयको काम कारबाहीको विषयमा जानकारी दिने र सुझाव लिने नयाँ अभ्यासको थालनी गरेका छन्। सामान्यतय्ः कुनै पनि नेता राज्यका उच्चतहमा पुगेपछि अथवा मन्त्री बनेपछि प्रधानमन्त्री बाहेक अरु त परको कुरा आफ्नै दलका कतिपय शीर्ष नेताहरुसँग समेत परामर्श लिन पनि आवश्यक ठान्दैनन्। तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहेको वर्तमान सरकारका पर्यटन मन्त्री भट्टराइले शनिबार एकै बिहानै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेर औपचारिक रुपमा राय सुझाव र परामर्श लिने प्रक्रियाको नयाँ अभ्यासको थालनी गरे। सभापति देउवासँगको भेटपछि हिमाल दैनिकसँग कुरा गर्दै मन्त्री भट्टराइले भने, ‘मैले केही दिनअघि नै उहाँसँग भेटका लागि समय माागेको थिएँ। आज उहाँले समय दिएर बोलाएपछि म मन्त्रीको हैसियतले पहिलो पटक उहाँको निवास बुढानिलकण्ठ पुगेर अत्यन्त उपलब्धिमूलक भेटवार्ता गरेर फर्किएँ।’ प्रतिपक्षी दलको नेतासँग भेटवार्ताको समय माग्नुको कारणबारे व्याख्या गर्दै मन्त्री भट्टराइले प्रमुख प्रतिपक्षी दलको नेता भनेको संवैधानिक हिसाबले पनि राज्यकै अंग भएको बताउँदै त्यो अभिन्न अंगको नेतासँग राय, सुझाव लिने र जानकारी दिने कार्यले राज्यका कामकारबाहीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। करिब ४५ मिनेटको भेटवार्ताका क्रममा मन्त्री भट्टराइले आफूले नेतृत्व लिएपछि मन्त्रालयले थालनी गरेका कतिपय महत्वपूर्ण काम कारबाही र योजनादेखि वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले घोषणा गरेको ‘भ्रमण वर्ष २०२०’ लाई कसरी सफल पार्न र देश हितमा काम गर्न सकिन्छ भन्नेबारे मन्त्रालयको योजना र धारणाबारे जानकारी गराएको बताए। ‘संविधानले नै प्रमुख प्रतिपक्षी दल र त्यसको नेताले सरकारका महत्वपूर्ण काम कारबाहीमा सुझाव दिने अधिकार राख्दछ र उसको रचनात्मक सुझाब र सहयोगले सरकारको जनहितमा केन्द्रित योजना सफल बनाउन सहयोग मिल्दछ,’ उनले भने। कांग्रेस सभापति देउवा प्रतिपक्षी दलको नेता मात्र नभएर पूर्व प्रधानमन्त्री र देशको शीर्ष नेतामध्ये एक भएको बताउँदै उनको निवासमा जानुको कारणबारे थप प्रष्ट पारे। उनले भने, ‘म उहाँहरु जस्तो नेताहरुको चेला पनि हँु। उहाँहरु दलको नेतामात्र होइन देशको मन्त्री र प्रधानमन्त्री समेत भएर काम गरिसक्नु भएको व्यक्तित्व हो। उहाँहरुसँग भएको मुलुकको शासन, प्रशासन सञ्चालन सम्बन्धी अनुभव र ज्ञान सिक्न पनि म गएको हुँ।’ संविधान र संविधानले परिकल्पना गरेको शासन व्यवस्थालाई सफल बनाउन सत्ता र प्रमुख प्रतिपक्षी दल लगायत परिवर्तनको यात्रामा सँगै हिँडेका दलहरुबीच आपसमा मिलेर अघि बढ्दा नै मुलुक सफल हुने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको संमृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हाँसिल गर्न र नेपाल भ्रमण वर्ष सफल पार्ने सरकारको योजनामा विपक्षी दलको पनि सकरात्मक सहयोगको अपेक्षा गरेको उनले देउवासँग बताए। जवाफमा देउवाले आफूँलाई स्वागत र बधाई दिँदै कार्यकालको सफलताको शुभकामना दिनुका साथै आफूँसँग राज्य सञ्चालनको विषयमा भएका अनुभव पनि सुनाएको मन्त्री भट्टराइले बताए। आफूले आगामी दिनमा पनि सबै नेताहरुको सुझाव र सहि मार्गदर्शनको अपेक्षा आफूले गरेको बताए। मन्त्री भट्टराइले आफू मन्त्री पदमा नियुक्त भएलगत्तै प्रधानमन्त्री ओलीसँग भेट गरी उनको राय सुझाव लिएको र त्यसपछि निरन्तर रुपमा पार्टीका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल झलनाथ खनालसँग पनि यस्तै भेटवार्ता गरेको बताए। शनिबार देउवा निवासमा पुगेका मन्त्री भट्टराइलाई देउवाका निजी सहयोगी भानु देउवाले के पिउनु हुन्छ भनि सोधेको र जवाफमा आफूँ मन्त्री भएपछि पहिलो पटक देउवा निवासमा पुगेको बताउँदै केही नखाई नजाने भन्दै दूध हालेको कफी खाने इच्छा व्यक्त गरेका थिए। त्यसपछि सभापति देउवा निवासका परिवारजनले मन्त्री भट्टराइलाई दूध हालेको कफी र देउवालाई कालो चिया दिएपछि सँगै बसेर कफी पिएरका मन्त्रीको ४५ मिनेटको बसाई टुंग्याए। छुट्टिनु अघि मन्त्री भट्टराइले देउवा निवासको मुल ढोकामा सभापति देउवासँग फोटो खिचाएर फर्किए।
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update