हिमाल दैनिक
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको बताए । सङ्घीय शिक्षा ऐन नबनेकाले तत्काल सहज सेवा दिन सङ्घीयता अनुकूल नै निर्णय गरी सङ्क्रमणकालीन व्यवस्थाको लागि शिक्षा विकास तथा समन्वय एकाइ गठन गरिएको उनले बताए । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन गतवर्ष पारित भई प्रमाणित भएकाले त्यस अनुसार शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै लगिने मन्त्री पोखरेलले बताए। मन्त्री पोखरेलले प्राविधिक शिक्षामा भएको शैक्षिक जनशक्तिको अभावलाई पूर्ति गर्न कार्य्विधि निर्माण गर्ने चरणमा रहेकाले त्यसपछि प्रशिक्षार्थीका रुपमा स्नातक तहका विद्यार्थीलाई खटाइने बताए । मन्त्री पोखरेलले ५१ जिल्ला साक्षर घोषणा भएको बताए । आगामी वर्षसम्म युनेस्कोले बनाएको मान्यताका आधारमा नेपाललाई साक्षर घोषणा गरिने उहाँको प्रतिबद्धता थियो । मन्त्री पोखरेलले संविधान जारी भएपछि कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तहमा ल्याइएको बताए । बालकेन्द्रलाई व्यवस्थित गर्न अभिभावक र साझेदार संस्थाको पनि सहयोग लिएर अघि बढ्ने सोच मन्त्रालयको रहेको मन्त्री पोखरेलले बताए । पालिका तहमा पनि शिक्षक पठाउने मन्त्रालयको दृष्टिकोण रहेको उनले जानकारी दिए। बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १० गते अपराह्न ३ बजे बस्ने छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update