हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँने नेता र कार्यकर्तामाथि अनुशासनको कोर्रा बजार्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर गएपछि अध्यक्षको जिम्मेवारी पाएका द्धितीय अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार पार्टी कार्यालय धुम्रबाराहीमा बसेको सचिवालय बैठकले पार्टीभित्र खस्कँदै गएको अनुशासनको स्थितिमा नियन्त्रण गर्न कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्न नपाइने निर्णय गरेको हो। सम्भवत् पार्टी एकीकरण पश्चात अध्यक्ष ओलीको अनुपस्थितीमा पहिलो पटक बालुवाटारबाट पार्टी मुख्यालयमा बैठक बस्न पुगेका नेकपा सचिवालय सदस्यहरुले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए अनुशासनको कारबाही गर्ने निर्णय गरेको जानकारी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए। अध्यक्ष दाहालले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा पार्टीभित्रको अनुशासन खस्कँदै गएको भन्दै पार्टी अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही गर्नु पर्ने धारणा राखेका थिए। पछिल्लो समय नेकपाका केही जिम्मेवार नेता, कार्यकर्ता सार्वजनिक रुपमै पार्टी र नेतृत्वको कार्यशैली र त्यसले जनतामा पारेको नकारात्मक प्रभावबारे आलोचना गर्ने क्रमले तिब्रता पाएपछि सचिवालय बैठकले असन्तुष्ट पक्षमाथि अनुशासनको कोर्रा देखाएको हो। यसरी पार्टी नेतृत्व र सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नेहरुमा अधिकांश नेता कार्यकताहरु माधवकुमार नेपाल पक्षका रहेका छन्। प्रवक्ता श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिँदै भने, ‘पार्टीका नेता, कार्यकर्ता वा अन्य कुनै सदस्यका बारेमा पार्टीका तलदेखि माथिसम्मका जिम्मेवार व्यक्तिले कुनै विषय व्यक्तिगत रुपमा उठाउनु परेमा त्यसलाई पार्टीभित्र तथ्यसम्मत ढङ्गले वा आफूलाई लागेको विषय उठाउनुपर्ने छ।’ त्यसैगरी बैठकले अध्यक्ष ओलीको अध्यक्षतामा बसेको यसअघिको सचिवालय बैठकले गरेका कतिपय जनवर्गिय संगठनका प्रमुख र इन्चार्जहरुको मनोनयन सम्बन्धि निर्णय रद्ध गरी पुनर्ःनिर्णय गरेको छ। बैठकले नयाँ शक्ति पार्टी नेपाल र नेत्रविक्रम चन्द समूहबाट नेकपामा प्रवेश गरेकामध्ये चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। यसरी मनोनीत हुनेमा देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राई रहेका छन्। पराजुली र धमला बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी तथा राईद्वय चन्दसमूहबाट नेकपा प्रवेश गरेका थिए। पार्टी एकता प्रक्रियामा सामेल भएकामध्येबाट १० प्रतिशतसम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधानबमोजिम उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोयन गरिएको प्रवक्ता श्रेष्ठले बताए। बैठकले जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको छ। बैठकले राष्ट्रिय सुरक्षा विभागका प्रमुखमा भानुभक्त ढकाल र उपप्रमुखमा रामकुमार राईलाई तोकेको छ। यसअघि उपप्रमुख राईलाई खोटाङको सहइञ्चार्जको जिम्मेवारी दिइएको थियो। विदेश मामिला विभागका उपप्रमुखमा विष्णु रिजाललाई थप गरिएको छ भने नीति, अनुसन्धान प्रतिष्ठानका सहसंयोजकमा प्रमेश हमाललाई जिम्मेवारी दिइएको छ। प्रादेशिक मामिला विभागका उपप्रमुखमा डोरमणि पौडेललाई चयन गरेको छ भने सहकारी तथा गरीबी निवारण विभागका उपप्रमुखमा कमल चौलागाईंलाई तोकिएको छ। यसअघि सहकारी विभागमा धर्मदत्त देवकोटा रहेका थिए।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update