हिमाल दैनिक
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने भएको छ । पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठक डाकेका हुन्। प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसी अर्का अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसी बाँकी विषय टुङ्ग्याउने तय गरेको थियो । नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनले भने, “बैठकमा यी विषयमा सहमति जुटेमा भोलि (सोमबार) नै यी विषय टुङ्गो लाग्नेछन् ।” प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली ७/१० दिन त्यहाँ रहने भन्दै पार्टीले यसबीचमा गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी गत बैठकमा भएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update