हिमाल दैनिक
संवैधानिक निकाय कार्यकारिणीको मातहत ल्याउने दुस्प्रयास नहोस्ः पूर्वराष्ट्रपति यादव
Pro_Ktm_Bookrelease
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक संविधानको भावना र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संवैधानिक निकायहरुलाई कार्यकारिणी मातहतमा ल्याउने प्रयासबारे चर्चा हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। समाजवादी जनता पार्टीका अध्यक्ष एवं संविधान सभाका पूर्व सदस्य प्रेमबहादुर सिंहद्धारा लिखित ‘संविधान निर्माणः घटना र अनुभूति’ शीर्षकको पुस्तक विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले अनेक शक्तिले संविधान सभा भंग गर्ने र त्यसबाट संविधान बनाउन नदिने चलखेलको बाबजूद पनि दोस्रो संविधान सभाले सफलतापूर्वक संविधान निर्माण गर्न सफल हुने मुलुकमा चलेको सात दशक लामो प्रजातान्त्रिक राजनीतिक लगानीको उपलब्धी भएको बताए। २०७२ साल असोज ३ गते संविधान जारी गर्दा आफूले देशका कुनै पनि भागमा असन्तुष्टि र विरोधको भावना नहोस् भन्ने चाहँदा चाहँदै पनि मधेसमा विरोध रहेको भएपनि पछिल्लो समय सबै राजनीतिक दलहरु यहि संविधानको मातहतमा सम्पन्न निर्वाचनमा सहभागी भएको उनले बताए। यसका बाबजूद पनि संविधानका प्रति कतिपय क्षेत्र र समुदायले असन्तुष्टि व्यक्त गरिरहेको बताउँदै त्यसको समाधानका लागि जिम्मेवार राजनीतिक शक्तिहरु अग्रसर हुनु पर्नेमा उनले जोड दिए। साथै उनले संविधानको मूल भावना र मर्म अनुसार अहिलेका मुख्य राजनीतिक दल र त्यसको नेतृत्व चलेको छ कि छैन भन्ने मुख्य चासोको विषय रहेको बताउँदै जिम्मेवारीमा बसेको नेतृत्वले तितो भाषा बोल्ने भन्दा पनि जनताको भावना र कुरा सन्न सक्नु पर्ने बताए। कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवं पूर्व संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान सभाले ऐतिहासिक रुपमै राम्रो संविधान बनाएको दाबी गर्दै त्यसमा कुनै त्रुटि नभएको दाबी गरे। उनले भने, ‘संविधान समझदारी र सझौताको दस्तावेज हो जसमा सबै कुरा राम्रा छन् तर, यसको कार्यान्वयनका लागि संविधानले सबैलाई समान बुद्धि, विवेक र क्षमता दिँदैन। त्यो हामीले कार्यान्वयनका क्रममा देखाउनु परेको छ।’ पुस्तकबारे टिप्पणी गर्दै वरिष्ठ अधिवक्ता संविधान जतिसुकै राम्रो भएपनि त्यसको कार्यान्वयनमा नेतृत्वले सहि दिशा र गति लिन सकेन भने त्यो गतिशील हुन नसक्ने बताए। उनले संविधानले मुलुकलाई गणतन्त्रमा लगेपनि त्यो गणतन्त्रमा धमिरा नागरिकको तर्फबाट नभई संसदीय प्रजातन्त्रमा तत्कालिन राजा ज्ञानेन्द्रले मन्त्रिपरिषदको अध्यक्ष बनेर धमिरा लगाएजस्तै यो संविधान र यसले बोकेका मान्यतामाथि नेतृत्व तहबाटै धमिरा लाग्न सक्ने तर्फ सचेत रहन आग्रह गरे। साथै उनले संविधान निर्माणमा भूमिका खेलेकै प्रमुख राजनीतिक दल र त्यसको नेतृत्वले यसको पूर्ण कार्यान्वयन नहुँदै कहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति त कहिले के भनि संविधान र मुलुकको राजनीतिलाई अस्थिरतातर्फ धकेल्न नहुने सुझाव पनि दिए। संविधानवीद भीमार्जुन आचार्यले नेपालका नेताहरु काम भन्दा बोल्ने मात्रै र पढ्ने, लेख्ने कार्यमा कमै रुचि राख्ने गरेकोमा नेता सिंहले संविधान निर्माणको प्रक्रियाकाबारेमा पुस्तक लेख्नु आफैँमा महत्वपूर्ण कार्य भएको बताए। साथै उनले ०४७ सालको संविधानको व्याख्यात्मक टिप्पणी भएपनि झण्डै सात वर्ष लगाएर संविधान सभाले लेखेको संविधानको व्याख्यात्मक टिप्पणी, वाद, सम्वाद नभएको वर्तमान संविधानमा सिंहले त्यो व्याख्यात्मक टिप्पणीको अभाव हटाउने प्रयास गरेको बताए। कांग्रेस सांसद राधेश्याम अधिकारीले उक्त पुस्तक संविधान र संविधान सभाको विषयमा सन्दर्भ सामाग्री हुन सक्ने बताए।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update