प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक व्यवसाय विधेयक २०७५ पारित गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उक्त बिधेयकमाथि दफावार छलफल गर्दै पारित गरेको हो । बिधेयकमा नेपाल सरकारले आफैं आणविक उद्योग खोल्न सक्ने व्यवस्था गरिएको छ । समितिको निर्णय अनुसार अब नेपालमा सरकारले आफ्नै स्वामित्व र पहुँचमा रहने गरी आणविक उद्योग खोल्न सक्ने गरी कानुन बन्नेछ ।
त्यस्तै बिधेयकमा नेपालमै लगानीको वातावरण निर्माणका लागी रहेका कानूनी जटिलतालाई पनि हटाइएको छ । बैठकमा उद्योगमन्त्री मातृका प्रसाद यादवले उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्नुपर्ने र वैदेशिक लगानी आकर्षित गर्नका लागि पारित भएको बिधेयक महत्वपूर्ण रहेको भन्दै बिधेयकलाई अघि बढाउन सहयोग गरेकोमा आभार व्यक्त गरे । मुलुकमा असल औद्योगिक वातावरण तयार गर्ने उद्देश्यले बिधेयक ल्याइएको उनले बताए ।
समितिबाट पारित बिधेयक राष्ट्रियसभाले पनि पास गरेर पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने र त्यसपछि विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय