नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वको कार्यशैली राजा, महाराजाको जस्तो भएको टिप्पणी गर्दै त्यसलाई सुधार्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्।
नेकपा निकट प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको ललितपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सम्भवत् शक्तिखोर पछाडि कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट नेताहरुकोबारेमा दोस्रो पटक खण्डन गर्न नसक्नेगरी सत्य उजागर गरेका छन्।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर गएपछि पार्टीको कार्यबहाक नेतृत्व पाएका दाहालले विश्वभरीका कम्युनिष्टहरुको साझा विशेषता र प्रवृत्ति भनेको सत्तामा नपुग्दासम्म समाज, जनता, माक्र्सवादी अध्ययन÷चिन्तन, दुःख, त्याग र बलिदान गरेर जनताको मन जित्ने रहेको बताए।
त्यतिबेलासम्म कम्युनिष्टहरु एकदमै ठिक रहेको बताउँदै उनले थपे, ‘सत्तामा पुगिसकेपछि त्यो सबैकुरा विस्तारै विर्सँदै जाने, जनताको आवश्यकता के हो, जनताको चाहना के हो? राष्ट्रको आवश्यकता के हो? त्यसको निम्ति हामीले गर्नु पर्ने मेहनत के हो? हामीले दिनु पर्ने कार्यशैली वर्किङ स्टाइल कस्तो हो भन्ने कुरामा विस्तारै विस्तारै बुर्जुवाकरण हुँदै जाने अनि आफैले गरेको हिँजोको त्याग, तपस्या र बलिदानको महत्वलाई अवमूल्यन गर्दै जाने वा घटाउँदै जाने।’
उनले कम्युनिष्टहरुको बुर्जुवाकरणमा उनीहरुलाई लडेर हराउन नसक्ने बुर्जुवाहरुले विकृत बनाएर कुनै गोली नै नचलाई पल्टाइदिने र उल्टाइदिन सिपालु भएको विश्लेषण सुनाए।
‘यो कुरामा बुर्जवाहरुहरु धेरै सिपालु छन्। कम्युनिष्टहरुलाई लडाइमा त जित्न सकिँदोरहेनछ, लडेर यिनीहरुलाई हराउँला भन्यो भने त्यो बुर्जुवाहरुको काल हुँदोरहेछ भन्ने कुरा पहिलो विश्वयुद्धमा पनि र दोस्रो विश्वयुद्धमा पनि र संसारभरका समाजवादी र जनवादी क्रान्तिहरुमा पनि देखियो,’ उनले भने।
कम्युनिष्टहरु सत्तामा गइसकेपछि उनीहरुलाई भग्लगराइज गर्ने र विकृत पार्ने, बुर्जुवा बनाइदिने र उनीहरुलाई एउटा गोली पनि नचलाइकन पल्टाइदिने र उल्टाइदिने गरेको बताउँदै उलने भने, ‘त्यत्रो करोड मरेर ल्याएको शासन सत्ता र समाजवादलाई एउटा गोली खर्च नगरिकन पूँजीपतिले आफ्नै पूँजीवादी बाटोमा लैजाने कुरामा एकदम सिपालु भए।’
सोभियत संघको पतन वा पूर्वीयुरोपको परिवर्तनमा अमेरिका, जर्मनी वा बेलायतको कुनै हमला र विदेशी हस्तक्षेपले नभएको भन्दै उनले त्यहाँ कसैले सशस्त्र संघर्ष कम्युनिष्ट पार्टीका विरुद्ध या कम्युनिष्ट नेतृत्वका विरुद्ध गरेर नभएको बताए।
‘बरु कम्युनिष्ट नेता नै राजा, महाराजा जस्ता हुँदै गएपछि राजा महाराजाका विरुद्ध लडेका जनताहरु अब कम्युनिष्ट पनि राजा, महाराजा जस्ता देखिएपछि यिनलाई पनि लखेट्न पर्छ लखेट्म भनि लागे,’ दाहालले थप्दै भने, ‘यो विडम्बना हामीले देखियो इतिहासमा।’
आफ्नोे पार्टीको नेतृत्वको कार्यशैलीप्रति लक्षित गर्दै उनले भने, ‘अब हामीकहाँ पनि यसो हेर्दा लक्षण, कुरा बुझ्नु भयो सिम्टम्सहरु कता कता त्यस्तै देखिने। अहिले हाम्रो पार्टीमा गर्न खोजिराखेको डिबेट यो कम्युनिष्ट पार्टी एकताबद्ध गरेर ठूलो भइदिएको छ। जनताले धेरै आशा र अपेक्षा गरेका छन्। हामी त्यस्तो परिघटनालाई पुनरावृत्ति हुन नदिने, नेपालमा दोहोरिन नदिने बरु त्यसबाट लेसन लिएर हामीले निरन्तर आन्दोलन र जनताको पक्षमा जाने उपाय के? वैचारिक, राजनीतिक, सांगठनिक कार्यशैली कल्चरल भन्नेबारेमा डिबेट छ।’
नेपालका कम्युनिष्टहरु हिँजोका दिनमा निक्कै अनुशासीत भए पनि अहिलेको स्थितिमा आइपुग्दा उनीहरुको स्तर गिरेर जसलाई जे मन लाग्यो बोलने र सामूहिक हितको वेवास्ता गर्ने गर्दा समस्याग्रस्त भएको बताए।
उनले भने, ‘हामीले हिँजो भन्दै आएको सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी भन्ने हुन्थ्यो अब, आजकल चाहीँ यो उल्टिएको छ। व्यक्तिगत निर्णय जिम्मेवारी समूहले लिइदिनु पर्ने यो उल्टो जस्तो जो भएको छ।’
पार्टी एकीकरण पश्चात एकीकृत पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीभित्र गरेका निर्णयप्रति लाक्षणिक रुपमा असहमति जनाउँदै उनले भने, ‘यसलाई करेक्सन गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ।’
साथै उनले इन्जिनियर्सहरुलाई पार्टीभित्रको यो स्थितिमा सुधार गर्न आवश्यक भूमिका खेल्न पनि उनले आग्रह गरे।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय