प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले संसदीय समितिहरुले मिहिनेतका साथ छानबिन गरेर तयार गरेको प्रतिवेदनलाई सम्बन्धित मन्त्रालयले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सापकोटाले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालका रिसोर्टका बारेमा छानबिन गरेर तयार पारेको प्रतिवेदन कार्यान्वयनमा आउन नसकेकाले यस विषयमा ध्यान दिन सम्बन्धित मन्त्रालयलाई आग्रह गरे।
सांसद गगनकुमार थापाले नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित सामुदायिक क्यान्सर अस्पतालका रुपमा रहेको भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति विघटन गरी नयाँ व्यवस्थापन समिति गठन गरिएकामा आपत्ति जनाए । सांसद अतहरकमल मुसलमानले स्वतन्त्र पत्रकारिता विपरीत सरकारले दीपायल र डोटीमा रेडियो नेपालमा कार्यरत पत्रकारलाई आस्थाका आधारमा हटाइएकामा आपत्ति जनाए । सांसद जनार्दन शर्माले सहमति र सहकार्यका आधारमा अगाडि बढ्नका लागि सबै राजनीतिक दलसँग आग्रह गरे।
सांसद अमृतादेवी अग्रहरीले सप्तरी जिल्लाका किसानलाई मलखादको अभाव भएकाकाले त्यसको आपूर्ति गर्न सरकारको ध्यानाकषर्ण गराईन । सांसद आशाकुमारी विकले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा लोक सेवा आयोगको विज्ञापन खुलाउनुपर्छ भनिन् । सांसद इन्दुकुमारी शर्माले काठमाडौँका विभिन्न स्थानमा भएको सडकको समस्या छिटो समाधान गर्न जोड दिईन । सांसद उमा रेग्मीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने जनतालाई सरकारले लाठी चार्ज गरेकामा आपत्ति जनाईन । सांसद उमेश श्रेष्ठले जतिसक्दो चाँडो राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठन गर्न सुझाब दिए ।
सांसदहरु झपडबहादुर रावल, कलिला खातुन, कुमारी मेचे, गङ्गा चौधरी सतगौवा, गोपालबहादुर बम, गणेशकुमार पहाडी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम खतिवडा, कृष्णभक्त पोखरेल र खगराज अधिकारीले देशैभरिको सडक समस्या, कृषकका समस्या, बाढीपहिरोको समस्या र भूकम्पपछिको पुनर्निर्माणबारे सरकारको ध्यानाकर्षण गराए । रासस
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय