नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद सतहमै छताछुल्ल हुन लागेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको पार्टी केन्द्रीय सचिवालयको बैठक स्थगित गरेका छन्।
चुनावी रणनीति अनुरुप तत्काल नेकपा एमाले र माओवादीबीचको एकीकरण भएको डेढवर्ष कटिसक्दा पनि पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न नसकेको नेतृत्वको कार्यशैलीका कारण सत्तारुढ दल नेकपाको केन्द्रदेखि तल्लो तहसम्मको सांगठनिक गतिविधि निष्प्रभावी भएको थियो।
पछिल्लो समय अध्यक्ष ओली र द्धितीय अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमति अनुरुप विभिन्न संगठनको कार्यविभाजनप्रति गम्भिर आपत्ति जनाउँदै पार्टी नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने जानकारी पाए लगत्तै नेतृत्वले आजको सचिवालय बैठक प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा व्यस्त रहनु पर्ने बहानामा स्थगित गरिएको स्रोतको दाबी छ।
यसैबीच पूर्वप्रधानमन्त्री नेपालले सचिवालयले गरेको पछिल्लो निर्णयप्रति सात बुँदे असहमति सार्वजनिक गरेका छन्।
नेपालले कम्युनिष्ट पार्टीको सञ्चालन विधान, विधि, पद्धति, मापदण्डका आधारमा पारदर्शी ढंगले गरिनु पर्नेमा पछिल्लो समय औपचारिकताका लागि केही बैठक राख्ने र गम्भीर छलफलवीना नै निष्कर्ष निकाल्ने काम भएको र भएका निर्णय पनि कार्यान्वयन नभएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।
तत्कालिन नेकपा एमाले र माओवादीबीचको ऐतिहासिक एकता प्रक्रियालाई गुटगत स्वार्थका कारण अनावश्यक रुपमा लम्ब्याएर एकताबाट पार्टी पंक्तिमा उत्पन्न उत्साहलाई निरुत्साहमा बदल्ने काम नेतृत्वले गरेको आरोप पनि नेपालले लगाएका छन्।
पछिल्लो समय वरियताक्रममा झलनाथ खनालभन्दा पनि पछि परेर अध्यक्ष ओलीसँग आक्रोसित बनेका नेता नेपालले पार्टी विधानको धारा ४६ (क) बमोजिम सबै तहका जिम्मेवारी बाँडफाँटमा पारदर्शी मापदण्डका आधारमा नभई गलत चाहनामा अध्यक्षले काखा र पाखा गरेको आरोप लगाएका छन्।
पछिल्लो समय इन्चार्ज, सह इन्चार्ज र जनसंगठनको पदाधिकारीको जिम्मेवारी बाँडफाँट गर्दा वरिष्ठता एवम् योग्यतालाई वेबास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई जिम्मेवारी माथि जिम्मेवारीको खातैखात कसैलाई जिम्मेवारी बिहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न नसकिने नेपालेका धारणा छ।
प्रधानमन्त्री र अध्यक्ष दुबै पद लिने ओलीको कदमप्रति आपत्ति प्रकट गर्दै नेपालले स्पष्ट भनेका छन्, ‘ अतः एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागु गरियोस्।’
साथै उनले आफू र झलनाथ खनालबीचको द्धन्द्धमा खेलेर अध्यक्ष ओलीले पछिल्लो समय आफूलाई वरियतामा तल पार्दै आफ्नो मानमर्दन गर्ने नियोजित कार्य गरेको आरोप पनि लगाएका छन्।
पार्टीभित्र यसरी पुरानो बरियताका आधारमा अहिलेको बरियता निर्धारण गर्ने हो भने हाल सचिवालयमा रहेका तात्कालिन एमालेका महासचिव र एक जना उपमहासचिव भन्दा माथिल्लो बरियताका तीन जना उपाध्यक्षहरुलाई सचिवालयमा किन राखिएन भनि उनले प्रश्न समेत गरेका छन्।
यसअघिको सचिवालय बैठकमा नेपालले तत्कालिन नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञावाली र घनश्याम भुषाललाई सचिवालय सदस्य बनाउन माग गरेका थिए।
साथै उनले कतिपय जनसंगठनमा वरियता मिचेर कनिष्ठहरुलाई प्रमुख बनाउने निर्णयप्रति आफ्नो असहमति भएको पनि बताएका छन्।
यसका अतिरिक्त नेपालले सरकारले पार्टीको नीति, निर्णय र योजना अनुसार कुनै पनि काम नगरिरहेको आरोप लगाउँदै यसले जनतामा पार्टी र सरकारप्रति नकरात्मक धारणा बढ्दै गएको आरोप लगाएका छन्।
नेपालले आफूले उल्लेख गरेको ७ बुँदामा गम्भीरतापूर्वक ध्यान दिएर कमी कमजोरीहरुलाई सच्यान तथा पार्टीप्रति जनता तथा कार्यकर्ताहरुको विश्वास एवं भरोसालाई कमजोर तुल्याउने कुनैपनि प्रकारका कार्य नगर्न माग गरेका छन्।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय