नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सोमबार सिंहदरबारमा पत्रकार स्म्मेलन गर्दै उनले बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँने जानकारी दिए ।
बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरवलोकन गर्ने छ । नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउँछ भन्ने कल्पनै गर्न नसकिने बताए । कांग्रेस नेता प्रदिप गिरिले संसदको अन्तराष्ट्रिय सम्बन्ध समिमतिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँने अभिव्यक्ति दिएका थिए । परराष्ट्रमन्त्रीले गिरिको सो भनाइको खण्डन पनि गरे ।
त्यस्तै उनले जम्मु काश्मीरको विषय नेपाल–भारत संयुक्त बैठकको एजेन्डा नबन्ने स्पष्ट पारे ।
उहाले नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै जम्मु काश्मीरको विषयले त्यसमा समस्या नल्याउने पनि स्पष्ट पारे । दुई मुलुकबीच समस्या भए त्यसलाई शान्तिपूर्ण वार्ताबाट समाधान गर्न सकिने भन्दै उनले वार्ता नै एकमात्र समाधानको उपाय भएको बताए। “नेपाल क्षेत्रीय शान्तिका पक्षमा छ, सबै समस्याको शान्तिपूर्ण समाधान वार्ता र संवादका माध्यमबाट खोजिनुपर्छ”, उनले भने । कश्मिरमा रहेका नेपालीको सुरक्षाप्रति सरकार संवेदनशील रहेको र नयाँदिल्लीस्थित दूतावासले भारतका अधिकारीसँग निरन्तर समन्वय र सम्पर्कमा रहेर काम गरिरहेको मन्त्री ज्ञवालीले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय