हिमाल दैनिक
पार्टी एकीकरण गरी सरकारको नेतृत्व लिने क्रममा सहयात्री नेता पुष्पकमल दाहालसँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बोली फेरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर जरुरी सार्वजनिक महत्वको वक्तव्य दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘दुनियामा पद नगएको कोही पनि छैन। आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन। त्यतिबेलासम्म साथीहरुलाई धैर्य गरेर बस्न आग्रह छ।’ पाँच वर्षको कार्यकाल आधा आधा चलाउने सहमति गरेका प्रधानमन्त्री ओलीले यसरी बोलीरहँदा सदनमा उपस्थित नेकपाका द्धितीय अध्यक्ष दाहालको अनुहारमा केही असर परेको देखिएको थियो भने ओलीको समर्थकहरु मख्ख परेका थिए। ओलीले विगतमा युरोपका कतिपय मुलुक लगायत भेयतनाम र कम्बोडिया भ्रमणको विषयमा सदनलाई कुनै जानकारी दिने कुरा नगरी केबल आफ्नोे सरकारको बखानमै समय खर्चिए। विगतमा भन्दा अलि कमजोर स्वास्थ्यस्थितिमा देखिएका ओलीले सम्बोधनका क्रममा अलि बढि स्वास बढेर बोल्न कठिन भएको देखिएपछि सभामुख कृष्णबहादुर महराले नियमावली अनुसार प्रतिप्रश्नको लागि सांसदलाई समय उपलब्ध नगराई सोझै शून्य समयमा प्रवेश गराए भने विपक्षी दलका सदस्यले पनि खासै जोड बल गरेनन्। https://youtu.be/KY4sRtG5cQ8 प्रस्तुत छ प्रधानमन्त्री ओलीले दिएको भाषणको सम्पादित अंशः आज केही समयको अन्तरालपछि मात्रै म यो रोष्ट्रममा उभिएको छु। बीचमा केही हाम्रा अभ्यासहरुमा केही त्रुटिहरु रहे जसले मैले यसअघि बोल्ने कुरामा व्यवधान भएको थियो। यसमा म खुशी व्यक्त गर्न चाहन्छु, हामीले लडेर ल्याएको लोकतन्त्र, हामी आफैले परिमार्जित परिस्कृत गरी दुनियाँका उत्कृष्ट लोकतन्त्र र उत्कृष्ट अभ्यासको रुपमा अगाडि बढाउनु पर्दछ। हामीले ल्याएको लोकतन्त्र वास्तवमै उत्कृष्ट छ। संविधान सभाको माध्यमबाट बनेको संविधानले सुन्दर प्रतिनिधित्वः समावेशी, समानुपातिक प्रतिनिधित्व व्यवस्था, जुन संविधान सभामा दुई दुई कार्यकालमा छलफल गरी निर्माण गरेका छौँ। त्यस संविधानको उपयुक्त कार्यान्वयन, उपयुक्त अभ्यास र प्रयोगबाट देश र जनताले अधिकतम लाभ प्राप्त गर्ने पद्धती हामीले निर्माण गर्नु पर्दछ। त्यसका लागि हामीले सर्वोच्च जनप्रतिनिधिको संस्था हो यसलाई तदअनुसारकै मर्यादित, देश र जनताको हितमा केन्द्रीत आफ्ना आफ्ना भूमिकामा संसद भित्रका सम्पूर्ण पक्षहरु जो हामी सहकार्यमा छौँ, यसप्रणालीको रक्षा, यसको प्रयोग र विकासका लागि सँगसँगै छौँ। हामी सबैको साझा दायित्व हो यसलाई प्रभावकारी र सुन्दर अभ्यासका साथ अगाडि बढाउने कुरा हो र आज फेरि हामी त्यहि विन्दुमा आएका छौँ। र म खुशी व्यक्त गर्न चाहन्छु,। अवरोधरहित ढंगले क्रियाशील भएको छ। सभामुख महोदय, हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौँ। यो प्रणाली नयाँ प्रणाली हो। जुन प्रणाली हामीले निर्माण गरेको संविधानले तय गरेको छ यो नयाँ प्रणाली भएको हुनाले पुरानो प्रणालीका सम्बाहकहरु, पुरानो प्रणालीका पक्षधरहरु पनि यस देशमा छन्। र लोकतन्त्र एउटा दमनकारी प्रणाली नभएको हुनाले पुरानो प्रणालीका पक्षधरहरुले पनि खुलेयाम गतिविधि गर्न पाउने नै कुरा भयो र गरेका पनि छन्। तर, यो सुन्दुर प्रणालीले आफ्नो अभ्यास प्रारम्भ गरी अगाडि बढाउँदा यस अभ्यासलाई परिपक्व, पूर्णता राम्ररी प्राप्त गर्न नपाउँदै यसलाई कसरी कमजोर पार्न सकिन्छ कि भन्ने तत्वहरु पनि छन्। जसप्रति हामी सजग हुन जरुरी छ। जसको सन्दर्भमा म पछि अलिकति चर्चा गर्ने छु। सम्माननीय सभामुख महोदय, हामीले यसबीचमा संविधानको कार्यान्वयनको सन्दर्भमा कानूनहरु निर्माण गरेका छौँ र मूलतः आमरुपमा संविधान सम्बन्धी कानून निर्माणको प्रक्रिया, संविधान कार्यान्वयनको सन्दर्भमा त्यसले पूर्णता पाएको छ भने हुन्छ एकाध बाहेक। जुन कुरा जति बाँकी छ त्यी कानूनहरुको निर्माण पनि अविलम्ब यस हाउसले अथवा यस संसदले चालू अधिवेशनमै गर्नु पर्नेछ। यसै अधिवेशनमा हामीले कही कानूनहरु निर्माण गरिसक्नु पर्ने छ। त्यसकारण कानूनको निर्माणमा अल्झिनु हुँदैन। कानूनहरुको निर्माण छिटो गतिमा हुनुपर्छ। कानून निर्माणमा विलम्ब हुँदा कार्यान्वयनमा विलम्ब हुन्छ र कार्यान्वयनमा विलम्ब भएपछि त्यसको प्रतिफल जनताले प्राप्त गर्ने कुरामा, संविधानको कार्यान्वयनको त्यो पक्षमा समस्याहरु पैदा हुन्छन्। त्यसकारण हामीले बाँकी कही जरुरी कानूनहरु अधिवेशनबाट टुंगो लगाउनु पर्नेछ। सम्माननीय सभामुख महोदय, हामीले संविधान प्राप्त गरिसकेपछि संविधानले भनेका संरचना तयार गरिसकेपछि, संविधानले निर्दिष्ट गरेका आवश्यकता अनुसारका कानून निर्माण र समायोजनाका मुख्य भागहरु समाप्त गरिसकेपछि अब हाम्रो ध्यान मैले पहिले पनि भन्दै आएको छु, सुशासन, र विकासमा केन्द्रीत छ। हामी सबैको साझा र राष्ट्रिय आकांक्षा वास्तवमा नै संमृद्ध नेपाल सुखी नेपाली हो। सुखी नेपाली हुनुका निम्ति भयरहित वातावरण, कानूनको राज, न्यायको ज्ञारेन्टी, प्रत्याभूति गरिवीबाट उन्मुक्ति, अशिक्षा र पछ्यौटेपनबाट उन्मुक्ति जस्ता कुराहरु आवश्यक छन्। यो सुरक्षित स्थिति र सम्मानजनक स्थितिमा र विपन्नतारहित स्थितिमा मात्रै मानव सुखी हुनु सक्दछ। त्यसकारण हामीले सम्पन्नता हाँसिल गर्ने, शान्ति सुरक्षा कायम गर्ने कुरामा र सम्मानपूर्वक ढंगले समानताका आधारमा नागरिकले जीवन यापन गर्न पाउने अवस्था श्रजना गर्न हामील ध्यान केन्द्रीत गरेका छौँ। हाम्रो राष्ट्रिय आकांक्षाको अर्थात संमृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा परिपूर्तिको लागि यतिबेला सुशासन र आर्थिक उन्नती विकास चाहे त्यो कृषिको क्षेत्र होस्, उद्योग, व्यापार, अथवा पर्यटन, शिक्षा, स्वास्थ्यको क्षेत्रदेखि पूर्वाधार विकासको क्षेत्र उर्जा र संचारका क्षेत्र अथवा समग्र समाजको आधुनिकीकरणको अभियान होस्। वातावरणीय सन्तुलनको पक्ष होस् यी सबै पक्षहरुमा सन्तुलन मिलाउँदै आन्तरिक रुपमा हाम्रा सम्पूर्ण साधान स्रोतहरुलाई समुचित ढंगले अत्याधिक प्रयोग गर्दै हाम्रो सामथ्र्यको प्रयोग गर्दै यसका निम्ति सिंगो राष्ट्रमा राष्ट्रिय एकता कायम गर्दै त्यो एकताबद्ध राष्ट्रको अभियान अगाडि बढाउने र हाम्रा छिमेकीहरुसँग सुमधुर सम्बन्ध कायम गर्ने। छिमेकीमा भइरहेको विकास र त्यसको प्रतिफल हामीले पनि लिन सकौँ, त्यस विकासको अभियानमा हामी पनि सामेह हुन सकौँ। उहाँहरुसँगको सम्बन्ध भरपर्दो, विश्वासिलो, समानता र पारस्परिक लाभका आधारमा अगाडि बढाउँदै बाह्य अन्य मित्रराष्ट्र, संघसंस्थाहरु लगायत सबैसँग जस्तो हाम्रो परराष्ट्र नीति छ कि कोही पनि हाम्रो सत्रु छैन सबै मित्र छन् त्यसहिसाबले अगाडि बढ्ने अहिलेको सरकारको नीति हो। म फेरि स्पष्ट पार्न चाहन्छु, एउटा कतिले बुझेरै हो कि कतिले नबुझेर हो हामीले बनाएको संविधानबाट हामीले गराएको चुनाव, लोकतान्त्रिक अभ्यासबाट जनताको अभिमतबाट वर्तमान सरकार बनेको छ। यो सरकार अचानक एउटा ह्वीममा जनताको फ्रस्टेशनमाथि टेकेर बनेको सरकार होइन। एउटा तत्कालिन सेन्टीमेन्टको भल छोेपेर बनेको सरकार होइन। यसकोे संघर्ष र बलिदानको इतिहास छ। त्यो संघर्ष र बलिदानको इतिहासबाट यसले अगाडि सारेका नीति, यसले विगतमा खेलेका भूमिकाको कारण जनताले अहिलेको सरकार र सरकार संचालन गर्ने गठन गर्ने दल र त्यसका नीतिहरुमाथि विश्वास गरेर अभिमत दिएर लोकतान्त्रिक विधि र जनताको अभिमतबाट बनेको हो। कुनै तत्कालिक आवेश, उत्तेजना र फ्रस्टेसनबाट होइन। इतिहास, बलिदानपूर्ण इतिहास र सहि नीतिहरु हेरेर यो सरकार गठन गर्ने जनादेश प्राप्त भएको हो। मैले यो कुनै भावावेश वा तत्कालिन ह्वीमको आधारमा होइन र जनताको फ्रस्टेशनको अभिव्यक्ति होइन भनेर किन भनिरहेको छु भने कहिले कहिले यहाँ सरकारको लोकतन्त्रप्रतिको निष्ठा, त्यसको लोकतान्त्रिक अभ्यासप्रतिको निष्ठाको सम्बन्धमा अनावश्यक भ्रम फिजाउने र हल्ला चलाउने प्रयास भइरहेको छ। म सबैलाई आग्रह गर्न चाहन्छु, यो हाम्रा विरोधीहरुले चलाउने हल्ला हो। भनेको यो संसदभित्र भएका शक्तिहरु जो लोकतन्त्रका लागि लडेर आएका छन्, लोकतन्त्रको पक्षमा रहेका शक्ति छन् तिनीहरुको विरुद्ध चलाउने र जनतामा फ्रस्टेशन ल्याउने, निराशा बढाउने र जनताको विश्वास भत्काउने र टुटाउने त्यो प्रयास अन्तर्गत लोकतन्त्रका निम्ति यति लामो इतिहास, यति ठूलो बलिदान र संघर्ष र देश बनाउने यति धेरै सहि नीतिहरुकासाथ अगाडि बढेको सरकार जो लोकतन्त्र ल्याउन अरुले ल्याएर दिएको होइन, लोकतन्त्र ल्याउन लडेको छ। म भन्न चाहन्छु, कोही भन्दा कम त्याग, तपस्या, बलिदान र योगदान गरेर यसपार्टीले त्यो समर्थन प्राप्त गरेको होइन। यस पार्र्टीले कुनै नीतिगत वा कुनै त्रुटिबाट कुनै गलत कामबाट जनताको आलोचना व्यहोर्नु पर्ने अवस्था श्रृजना गरेकोे छैन। त्यस्तो अवस्था र पृष्ठभूमिमा अहिलेको सरकारबाट लोकतन्त्र भएन, अधिनायकवादतर्फ गयो भन्ने कुरा नगर्न वेश हुन्छ, गर्यो भने पनि जनताले पत्याउदैन पनि र यसले जनतामा निराशा पैदा गर्ने प्रयास नगर्दा राम्रो हुन्छ। म भन्न चाहन्छु, अहिलेको सरकार लोकतन्त्रका लागि लडेको सरकार हो बलिदान दिएको सरकार हो। त्यसबाट उब्जिएको सरकार हो र यो लोकतन्त्रप्रति प्रतिबद्ध छ यसको उद्देश्य नै लोकतन्त्रको सुरक्षा र सम्बद्र्धृन गर्नु हो। लोकततन्त्रलाई सुदृढ गर्र्नु हो। लोकतन्त्रलाई सुदृढ गर्ने बाटो भन्दा वरपर जान सक्दैन। अहिलेको सरकारका उदारता, संयमतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ। म भन्न चाहन्छु, संविधानसम्मत ढंगले चल्ने कुरा र संवैधानिक दायराभित्र रहेर चल्ने कुरामा यो सरकार अत्यन्त प्रसन्नतापूर्वक विरोधको पनि स्वागत गर्दछ। आलोचनाको पनि स्वागत गर्दछ। तर, सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने संविधान अस्विकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन। र म खुलस्त भन्न चाहन्छु, संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोेधी क्रियाकलापहरु सरकारको उदारता र सहिष्णुताबाट त्यस्ता क्रियाकलापहरु संचालन गर्ने तत्वहरु नहौसिए हुने हो। म भन्न चाहन्छु, त्यस्तो तत्वहरु हुन त एक जनाले भनेको सुनेँः प्रधानमन्त्री लगलग लग कामीरहेकाछन्। अब जाने भो भनेर। पद नगएको मैले दुनियाँमा कोही देखेको छैन अहिलेसम्म। पद नगएको मान्छे, कोही देखेको छैन, राजा, महाराजा, सम्राट, बादशाह, जननिर्वाचित प्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन। त्यसकारण निर्वाचनसम्म धैर्र्य गर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु। केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट अहिलेको सरकार भाग्छ भन्ने कुरा अहिलेको सरकारको लगलगलग काम्यो भन्ने कुरा यस्तो दिवास्वप्ना नदेखे हुन्थ्यो। यो सरकार चुनौतिहरुको सामना गरेर आएको पृष्ठभूमि छ। ठूला ठूला अप्ठ्याराहरुको सामना गरेर। जुन संस्था र निकायहरुका जुन शक्तिका कुरा गर्ने गर्छन् मान्छेहरु त्यी शक्तिहरु जीउँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौँ। अहिले चिहान गएर हड्डि फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गरेर उफ्रिएको पनि देखिन्छ। यो वेमौसमको बाजा नबजाए हुन्थ्यो। सरकारले यो उदारता देखाएको नपत्याएर हो भन्ने कुरा म बताइदिन्छु। पत्याएका दिन संविधानको, व्यवस्थाको, लोकतन्त्र र प्रणालीको, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ र त्यसको रक्षा र कार्यान्वयन गर्छ। जनताले दिएको म्यान्डेट त्यहि हो। अहिले सम्पूर्ण प्रयास सरकारको विकास निर्माणका कुरामा छ। केही पनि भएन केही भएन भन्ने सुनिन्छ। केही नहुँदा पनि सात प्रतिशत भन्दा बढि आर्थिक बृद्धिदर छ जो ऐतिहासिक हो। नेपालको इतिहासको रेकर्ड हो। ठिक छ, केही भएन भनेको। अर्को वर्ष ८.५ प्रतिशत हुनेछ, फेरि केही भएन भन्नुहोस् ९ प्रतिशत पुग्छ अर्को वर्र्ष। फेरि केही भएन भन्नुहोस् अर्को वर्ष ११ प्रतिशत पुग्छ। फेरि केही भएन भन्नुहोस् हामी त्यो भन्दा बढाउने कोशिशमा लाग्छौँ। त्यसकारण केही भएन भन्नेले हामीलाई सजग गराएको प्रति धन्यवाद भन्न चाहन्छु। ऐतिहासिक रेकर्ड कायम गराउँदा पनि केही भएन। १४ सय किलोमिटरभन्दा बढि बाटो पिच भयो इतिहासमा पहिलो पल्ट यसवर्ष केही भएन भने ठिक छ नि छ, १५ सय २ हजार अर्र्को बनाउँला नि त आगामी आर्थिक वर्ष। तीन सय पुल बनाउँदा पनि कम भयो भने पाँच सय बनाउँला नि त ठिकै छ। बाटाहरु चौडा बन्दैछन्, नयाँ बाटाहरु बन्दैछन्, थप जनसंख्यालाई खानेपानी पुर्याइँदैछ। एउटा मेलाम्चीको ठेकदार भाग्यो। ठेकदार भाग्यो, यस्तो कुरा कहिले कहिले हुन्छ, सरकार भाग्या त होइन नि, ठेकदार भाग्यो हामी आफैँ गर्दैछौँ। मेलाम्चीको पानी ल्याउँछौँ। अलिकति ढिला भयो। हामी विकास आयोजनाहरुको कार्यान्वयनमा देखिएको समस्याहरुलाई कसरी छिटो छरितो हुन सक्छ त्यसतर्फ गइरहेका छौँ। नयाँ नयाँ तरिका र नयाँ नयाँ नीतिहरु अबलम्बन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरु, रुपान्तरणकारी आयोजनाहरु र आर्थिक बृद्धिलाई सहयोग गर्ने क्षेत्रगत आयोजनाहरुको कार्यान्वयन क्षमता बढाउन अनुगमनको प्रभावकारी व्यवस्था मिलाइएको छ। समस्याहरु आइपरेभने तत्काल समाधानका लागि आवश्यक उपकरणहरु समेत समाधान कक्षको स्थापना गरिएको छ। यी नयाँ शैली र नयाँ तरिकाहरु अगाडि बढाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजनाको तत्क्षण अनुगमन गर्ने कक्ष स्थापना गरिएको छ। यसबाट हरेक आयोजनाहरुको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाहरुको तत्काल जतिबेला चाह्यो त्यतिबेला अनुगमन गर्न सकिन्छ। यस सम्मानित सदनबाट पारित भएका नीति, कार्यक्रम र बजेट, त्यीनिहरुको कार्यन्वयनका लागि अहिले एउटा नयाँ सिस्टम आवधिक योजना सहितको सिस्टम सुरु गरिएको छ। जसबाट प्रधानमन्त्री र मन्त्रीहरुकाबीचमा सम्झौता गरिएको छ। कार्यान्वयन सम्बन्धि मन्त्री र सचिवहरुकाबीचमा सम्झौता गरी यति अवधिमा यति काम गर्ने वार्षिक लक्ष्यलाई आवधिक लक्ष्यमा परिणत गरेर अगाडि बढिएको छ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update