तनहुँको व्यास नगरपालिकामा गठन भएको युवा परिषद्का सदस्यलाई प्रशिक्षण प्रदान गरिएको छ । व्यास नगरपालिकाले विभिन्न क्षेत्रलाई समेटेर गठन गरेको युवा परिषद्का सदस्यलाई प्रशिक्षण प्रदान गरिएको हो ।
शनिबारदेखि शुरु प्रशिक्षणको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकालाई युवामैत्री बनाउने प्रयास गरिएको बताउनुभयो । न्यौपानेले प्रत्येक यात्रामा युवालाई सक्रिय बनाउने, अभ्यस्त बनाउने र सम्भावना बोकेका युवालाई नगरपालिकाको विकासमा प्रयोग गर्ने उद्देश्यसहित नगरपालिकाले युवामैत्री कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
युवा अभियन्ता अपार पौडेलले युवाहरु सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अहिलेका युवापुस्ता शतप्रतिशत सकारात्मक हुनुपर्नेमा जोड दिँदै पौडेलले देश कस्तो बनाउने भन्ने जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो । युवा परिषद्का सदस्यलाई प्रशिक्षणमार्फत क्षमतावान बनाउने उद्देश्यले नगरपालिकाले दुईदिने अभिमुखीकरणको आयोजना गरेको व्यास नगरपालिका शिक्षा तथा युवा शाखा प्रमुख नगेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
युवा परिषद्का सदस्य सुनिता आचार्यले प्रशिक्षणपश्चात आफूहरुको क्षमता अभिवृद्धि हुनुको साथै नगरपालिकाको विकासमा आफूहरुले गर्न सक्ने सहयोगको बारेमा छलफल गरिने जानकारी दिनुभयो । आइतबारसम्म चल्ने अभिमुखीकरणमा परिषद्का ४० भन्दा बढी सदस्यको सहभागिता छ । प्रशिक्षणमा राष्ट्रियधावक मीरा राई, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको छ ।
जनगायक शर्मालाई सम्मान
प्रगतिशील लेखक सङ्घ तनहँुले वरिष्ठ जनगायक जीवन शर्मालाई सम्मान गरेको छ । शनिबार दमौलीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले जनगायक शर्मालाई दोसल्ला र प्रशंसापत्रले सम्मान गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य कोइरालाले गायक शर्माले जनताको पक्षमा गीत गाएर नै निरंशुकतामाथि प्रहार गरेको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कम्युनिष्ट पार्टीका कार्यकर्तामा अध्ययनको कमी भएको भन्दै समाजवादको यात्रामा जान पनि पहिला अध्ययनशील बन्नुपर्ने र विश्वका इतिहासहरुको बारेमा जानकारी राख्नुपर्ने बताउनुभयो ।
जनगायक शर्माले जीवनको लामो कालखण्डमा निरंकुशताविरुद्धको आन्दोलनमा गीत–सङ्गीतले राम्रो प्रभाव पारेको बताउनुभयो । सो अवसरमा न्यौपानेले लेख्नुभएको सङ्घर्षको इतिहास नामक पुस्तकमाथि वाम बुद्धिजीविहरु शेषमणि आचार्य र डम्बरदेव कैनीले परिचर्चा गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय