हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओली फेरि बिरामी परेका छन्। सिंगापुरमा ९ दिनसम्म ‘स्वास्थ्य परीक्षण’ गरेर स्वास्थ्य भइ फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिन नबित्दै फेरि स्वास्थ्य बिग्रिएको हो। टाउको भारी हुने र आंशिक ज्वरो आउने भएपछि उनलाई डाक्टरहरूले आराम गर्न सल्लाह दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सोमबार नेपाल फर्किएलगत्तै राजनीतिक छलफल र परामर्शमा व्यस्त भएका प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्यस्थितिबारे बालुवाटारमा छलफलसमेत भएको छ। सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका प्रधानमन्त्री ओलीले नेपाल फर्किएपछि आफू स्वस्थ भएको भन्दै स्वास्थ्यस्थितिबारे चिन्ता नलिन आग्रह गरेका थिए। प्रधानमन्त्री सचिवालयका अनुसार आज (बिहीबार) बिहानदेखि उनलाई केही असहज महसुस भएको थियो। टाउको दुख्ने र बेलाबेलामा ज्वरो पनि आउने भएपछि आजका लागि तय भएको सचिवालय बैठक पनि स्थगित गर्नुपरेको थियो। बिरामी भए पनि बिहीबार दिनभर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि फेरि उनका स्वास्थ्य सल्लाहकार चिकित्सकहरू वालुवाटार पुगेका थिए। उनीहरूले प्रधानमन्त्रीको ओलीको मिर्गौलामा क्रियटिनिनको मात्रा बढेको भन्दै अस्वस्थ भएको अवगत गराएको थिए। मिर्गौलामा क्रियटिनिनको मात्रा बढ्नु भनेको काम कम गर्दै जानु हो। मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यसअघि नियमित चेकजाँचका लागि थाइल्याण्डको बैंकक जाने गर्थे। यसपालि उनी सिंगापुर गएका थिए। साउन १८ गते सिंगापुर गएका ओली २४ गते स्वदेश फर्किने कार्यक्रम थियो। तर स्वास्थ्य परीक्षणका रिपोर्ट आउन समय लागेकाले उनको सिंगापुर बसाइ लम्बिएको थियो। प्रधानमन्त्री ओलीको के-के परीक्षण भएको हो र तिनको रिपोर्ट के आयो भन्नेबारेमा खुलाइएको छैन। १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको बीचमा पटकपटक स्वास्थ्यमा समस्या आएको छ । यसैबीच प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य ठीक रहेको भन्दै उनी भोलि बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहने बताएका छन्। बिहिबार राति ट्वीट गर्दै उनले  प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद दिएका छन्।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update