प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा समस्या नेकपा सचिवालय बैठक औपचारिक एजेन्डामा प्रवेश नगरी स्थगित भएको छ।
प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बिहिबार तीन बजेका लागि बोलाएको बैठक पाँच बजेका लागि सारिएको थियो। तर, पाँच बजे पनि बैठक बस्न नसकेपछि सचिवालय बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो।
बैठक अघि महासचिव विष्णु पौडेलको प्रतिवेदनमाथि सामान्य छलफल भएतापनि सचिवालय बैठक औपचारिक एजेन्डामा प्रवेश नगरी स्थगित भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए।
प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएपछि आराम गर्नको लागि बैठक स्थगीत गरिएको र बैठक शुक्रबार ३ बजे बस्ने उनले बताए।
प्रधानमन्त्री ओली केही दिनअघि मात्र सिंगापुरमा एक हप्ता लामो स्वास्थ्य परिक्षण गरी सोमबार मात्र स्वदेश फर्किएका थिए।
नेकपाको एकताका बाँकी काम टुङ्ग्याउन भन्दै आयोजना गरिएको बैठक पटक पटक स्थगित गर्दै आएको छ।
नेकपाले पार्टी विभागको नेतृत्व, जनवर्गीय संगठनका इन्चार्ज तथा सहइन्चार्ज, विभिन्न आयोगहरु, परिषद् र जेष्ठ नागरिक मञ्चको नेतृत्वको टुंगो लगाउन बाँकी छ । त्यसमध्ये स्कूल विभाग प्रमुखको जिम्मेवारी बाँडफाँटको विषयमा पार्टीभित्र तिब्र प्रतिस्पर्धा र विवाद बढ्दै गइरेहको छ।
छलफल पेचिलो बन्दै गएपछि स्कूल विभाग प्रमुखको जिम्मेवारी अहिलेका लागि दुई अध्यक्षले नै राख्नसक्ने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय