उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका परिवर्तन भएको छ।
स्वास्थ्य परीक्षणको रिपोर्ट नआएका भन्दै आज निर्धारित प्रधानमन्त्रीको स्वदेश फर्कने कार्यतालिका लम्बिएको उनको सचिवालयले जानकारी दिएको छ।
शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेको भए पनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले सिंगापुरको बसाई लम्बिएको हो ।
शुक्रबारपछि आइतबार स्वदेश फर्कने तय भए पनि आइतबारसम्म पनि स्वास्थ्य परीक्षण रिपोर्ट नआउँदा बसाई लम्बिएको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीसहितकाे टाेली सोमबार थाइ एयरबाट दिउँसाे साढे १२ बजे आइपुग्नुे कार्यतालिका रहेकाे सचिवालयले जनाएकाे छ।
प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन्।
प्रधानमन्त्री ओलीको सिङ्गापुको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उहाँ साउन १८ गते त्यसतर्फ गएका थिए।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन्। उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो।
अधिकांश समय थाइल्याण्ड जाने गरेका प्रधानमन्त्री यसपटक सिंगापुर गएका हुन्। केही समयदेखि स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली केही दिन यताका कार्यक्रममा उपस्थिति न्युन गराएका थिए।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय