श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारको लक्ष्यप्रति सम्पूर्ण कर्मचारीलाई जवाफदेही बनाउँदै परिणामुखी काममा केन्द्रित गराउने उद्देश्यले सम्पूर्ण कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले सचिव महेशप्रसाद दाहाललाई कार्यसम्पादन सम्झौता गराए । त्यस्तै सचिव दाहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकलाई कार्यसम्पादन सम्झौता गराए।
यसैगरी सहसचिवले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमा भित्रै हासिल गर्न चाल्नुपर्ने कदम र निर्धारित कार्यतालिका सहितको कार्यसम्पादन सम्झौता गराए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन् । कार्यक्रममा मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्यपालनामा सघाउ पु¥याउने बताए। उनले समयसीमा भित्रै सरकारले राखेको लक्ष्य हासिल हुने र परिणाम देखिने गरी काम गर्न निर्देशन दिए ।
सो अवसरमा मन्त्रालयका उच्च अधिकारीले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबलसहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता गरेका थिए । मन्त्रालयले आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जनाएको छ । रासस
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय