पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले अव्यवस्थित वसोबासलाई व्यवस्थित गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताएका छन् ।
बुटवल उपमहानगरपालिका–२ को भवन उद्घाटन तथा ज्येष्ठ नागरिक मिलन केन्द्र शिलान्यास समारोहलाई आज सम्बोधन गर्दै महासचिव पौडेलले छिट्टै उच्चस्तरीय आयोग गठन गरेर सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने बताए।
उनले आयोगमार्फत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको पहिचान गरिने बताए । “भूमिसम्बन्धी ऐन संशोधन गरी बनेको विधेयक हाल सङ्घीय संसद्मा छलफलको चरणमा छ । विधेयकको टुङ्गो लागेपछि आगोग गठन गरी भूूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्छौं”, उनले भने।
महासचिव पौडेलले बुटवलको गौरवका रुपमा जितगढी किल्लाको विकास गर्नुपर्ने धारणासमेत राखे । जितगढी किल्लालाई अन्तर्राष्ट्रिय महत्वको राष्ट्रिय सम्पदाका रुपमा विकास गर्नुपर्नेमा महासचिव पौडेलले जोड दिए । उनले तिनाउ पुल पुरानो अवस्थामा रहेकाले नयाँ निर्माण जरुरी रहेको र बुटवल–कोहलपुर सडक विस्तारको तयारी भइरहेको जानकारीसमेत गराए ।
उनले वडामा बजेटको सही सदुपयोग र कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । “जनप्रतिनिधि र जनताका काम नगर्ने अधिकार कर्मचारीलाई छैन । जनताका समस्या समाधानका लागि योगदान दिनु उनीहरुको दायित्व हो”, महासचिव पौडेलले भने । कार्यक्रममा प्रदेशसभाका सदस्य भोजप्रसाद श्रेष्ठले नगर सरकारको अनुभूति हुने गरी स्थानीय तहमा काम भइरहेको बताए।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले व्यवस्थित योजना निर्माण र कार्यान्वयन गरी समृद्ध नगरको परिकल्पना साकार गर्नु अहिलेको आवश्यकता रहेकामा जोड दिए।रासस
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय