हिमाल दैनिक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले ठंडा दिमागले सोच्ने र वार्ता तथा सहमतिको माध्यमबाट समाधान खोज्ने हो भने भोलि बस्ने सदन सुचारु हुने उनको विश्वास छ । उनले भने,‘हामी अहिलेपनि अन्तरकुन्तरमा छलफल तथा वार्ता गरिरहेका छौं । भोलि सदन सुचारु हुन्छ भन्ने कुरामा हामी आशावादी छौं ।’ उनले संसद अवरुद्धले आफ्ना कुरा सदनमा राख्न नपाउदा कांग्रेसले पनि घाटा भएको बताएका छन्। उनले सर्लाहीका तीन वटा घट्नालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु नै गलत भएको बताए । उनले भने,‘असार ५ गते घट्नाको सवालमा भोलिपल्ट असार ६ गते राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ । अहिलेसम्म उक्त घट्नामा संलग्न ११ जना प्रहरीमध्ये दश जनाको बयान लिने काम भैसकेको छ । अब केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छ ।’ मानवअधिकार आयोगले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्न लागेको अवस्थामा फेरि अर्को छानबिन समिति बनाउन माग गर्नु गलत भएको पनि गुरुङको भनाई छ । उनले भने,‘त्यस्तो अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्छ भनेर माग गर्नु कत्तिको उपर्युक्त हुन्छ ? लोकतान्त्रिक मूल्य र मान्यताबाट हेर्दा र विधिको शासनको लेन्सबाट हेर्दा यो गलत छ ।’ त्यस्तै, उनले असार १४ र १५ गतेको घट्नाको सवालमा कांग्रेसले उठाएका माग तर्कसंगत नभएको पनि जिकिर गरे । उनले भने,‘उहाँहरुले जुन कुरा उठाउनुभएको छ, त्यो प्रक्रियागत पनि गलत छ । तर, छानबिन समिति गठन गर्ने माग सिद्धान्तः हुनसक्छ ।’ कांग्रेसले छानबिन समिति गठन गर्न माग गर्नु नै गलत भएको उनको दाबी छ । उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस गैरजिम्मेवार रुपमा प्रस्तुत भएको जिकिर गरे । उनले भने,‘जुन किसिमले कांग्रेसले संसद अवरुद्ध गरेको छ, त्यो गतल छ । आज २५, २६ दिनसम्म संसद अवरुद्ध भएको छ । चार, पाँच वटा बैठक अवरुद्ध भैसक्यो ।’ असार १४ र १५ गते सर्लाहीमै घटेका घट्नाको बारेमा पनि असार १८ गते सर्वदलीय बैठक बसि सहमति भैसकेको उनले सुनाए । उनले भने,‘चार वटै पार्टीको नेताहरु बसेर १४ बुँदे सर्वपक्षीय सहमति भैसकेको छ ।’ उनकाअनुसार उक्त १४ बुँदे सहमतिमा सरोजनारायण सिंहलाई सहिद घोषणा गर्ने, उनको श्रीमतीलाई कार्यालय सहयोगीको रुपमा जागिर दिने, छोरालाई निःशुल्क शिक्षा प्रदान गर्ने र शालिक बनाउने रहेका छन् । त्यस्तै, अमित राय यादवको सवालमा पनि ५ लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप दिने, दुवैको परिवारलाई काजकिरिया खर्च जनही २५ हजार दिने, घाईतेहरुको निःशुल्क उपचार गरिदिने, राजकुमार महरालाई ५० हजार दिने सहमति भैसकेको पनि उनले सुनाए । उक्त सहमतिमा आफूहरुको पूर्ण सहमति र समर्थन रहेको पनि गुरुङको भनाई छ । सहमति र पहिल्यै नै सल्टिसकेको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि किन उल्टाउन कोशिश गरिरहेको छ ? त्यो कुरा आफूहरुले नबुझेको उनको टिप्पणी छ । उनले भने,‘सहमति भैसकेको विषयमा फेरि विषय उल्टाएर के गर्न खोजेको हो ?’ संसद यति लामो समयसम्म अवरुद्ध गर्दा कतै कांग्रेसले अहिलेको व्यवस्थालाई नै समाप्त पार्न खोजेको त होईन ? भनेर पनि प्रश्नचिन्ह उब्जिएको गुरुङको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update