नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका मंसिर मासन्तपछि मात्रै तय हुने भएको छ।
कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका शीर्ष नेताहरुको सहमति पश्चात तयार पारेको प्रस्ताव पेश गर्दै १४औं महाधिवेशनको कार्यतालिका आगामी मंसिर मसान्तपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे पश्चात प्रक्रिया अघि बढाउने जानकारी दिए।
उक्त प्रस्तावलाई सभापति शेरबहादुर देउवाले निर्णयार्थ पेश गरेपछि आजको बैठकले पारित समेत गरेको जानकारी एक सदस्यतले हिमाल दैनिकलाई दिए।
विगत केही दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका तय नभएसम्म बाँकी एजेण्डामाथिको छलफलमा सहभागी नहुने अडान लिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उभिएपछि शुक्रबार अपरान्ह नेताहरुबीच पार्टी मुख्यालयमा वार्ता भएको थियो।
अनौपचारिक वार्तामा भएको सहमति अनुसार, देशको संविधान बमोजिम परिमार्जन भएको पार्टीको नयाँ विधानको दफा ७२ को (४) बमोजिम पार्टीमा अन्तरिम संरचना गठनको विषयलाई प्राथमिकतामा राखिएको छ।
जसअनुसार, पार्टीको १३औँ महाधिवेशनको क्रममा बनेको पार्टीका स्थानीय संरचनालाई संघीय व्यवस्था अनुरुप बनेको विधानको धारा ७२ को ४ अनुरुप अन्तरिम संरचना गठन गरिने उल्लेख छ।
यसका लागि विधान बमोजिम आवश्यक निर्देशिका तत्काल तयार गरी केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरी पारित प्रस्ताव महामन्त्री खड्काले बैठकमा दिएको त्यी सदस्यले बताए।
पार्टीको नियमावलीसँग नबाझिने गरी साउन २२ गतेभित्र निर्देशिका तयार पारी सक्ने र २२ गते बस्ने केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसले गरेको छ।
अन्तरिम संरचना गठनको प्रक्रिया कहिले सुरु भएर कहिले समाप्त गर्ने भन्ने केही उल्लेख नभएपनि नयाँ विधान बमोजिम १३औं महाधिवेशनका बुथ तथा महाधिवेशन प्रतिनिधिहरुकै आधारमा संघ, प्रदेश, जिल्ला र स्थानीय तहको अन्तरिम संरचना गठनले पहिलो प्राथमिकता पाएको छ।
त्यसैगरी १३औं महाधिवेशन अघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाएको क्रियाशील सदस्यको अभिलेख मंसिर मसान्तसम्ममा अध्यावधी गरिसक्ने प्रस्ताव कांग्रेसले गरेको छ।
यसरी क्रियाशील सदस्यता अध्यावधी गरेपश्चात बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधविशेनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय