सङ्घीय मामिला तथा सामान्य प्रशासन लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले तोकिएको जिम्मेवारी पूरा नगरे त्यसको परिणाम भोग्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले कर्मचारीले तोकिएको काम बाहेक अनावश्यक अतिरिक्त समय बिताए त्यसको परिणाम भोग्नुपर्ने बताए।
सरकारले तोकेको काम पूरा नगर्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने भन्दै उनले त्यस्ता कर्मचारीलाई बिदा गरेर पठाइने धारणा राखे । मन्त्री पण्डितले अपुग कर्मचारी यसै आवको शुरुदेखि नै अन्त्य गर्ने उल्लेख गर्दै अब नियमति कर्मचारी भर्ना गर्दै जाने जानकारी दिए।
सङ्घीय निजामति कर्मचारी सेवा ऐन यही महीनाभित्र संसद्बाट अगाडि बढ्ने उनको भनाइ थियो । मन्त्री पण्डितले गत आवमा व्यवस्थापनका काम बढी गर्नु परेकाले विकास निर्माणका काम कम भएको बताए। सार्वजनिक खरीद नियमावली संशोधन हुन थालेको भन्दै अव काम नगर्ने ठेकदारको रकमसमेत निकासा नहुने उनले बताए।
कार्यक्रममा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले प्रदेश र स्थानीय तहको काममा बढी व्यस्त हुनुपरेकाले मन्त्रालयको प्रगति ७८ प्रतिशत रहेको बताए। उनले स्थानीय तहमा कर्मचारी पूरा नभएकाले पनि भौतिक पूर्वाधारमा समस्या भएको बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय