नेपाली कांग्रेसका असन्तुष्ट पक्षले तत्कालिन १४औं महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्न दिएको दबाबप्रति सभापति शेरबहादुर देउवाले अस्विकार गरेका छन्।
कांग्रेसका जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार पनि असन्तुष्ट पक्षका नेताहरुले तत्काल महाधिवेशनको कार्यतालिका बनाउन माग गरेपछि बिचमा प्रतिक्रिया दिने क्रममा देउवाले अस्विकार गरेका हुन्।
देउवाले विधान वमोजिम वर्तमान कार्यसमितिको कार्यकाल पाँच वर्ष अर्थात अझै २० महिना बाँकी रहेको र त्यो बीचमा संक्रमणकालिन व्यवस्था अनुसार विभिन्न तहका संरचना नबनाइकन अहिले नै महाधिवेशनको कार्यतालिका आउन नसक्ने जनाएको एक नेताले बताए।
उनले विधानको व्यवस्था अनुसार दफा ७२ को (४) वमोजिम विभिन्न तहमा सांगठनिक संरचना बनाउनु पर्ने र त्यसपछि क्रियाशील सदस्यता वितरण देखि अन्य थुप्रै प्रक्रिया बाँकी रहेको भन्दी महाधिवेशन हुने कहिले कहिले कार्यतालिका अहिले भनि प्रश्न गरेका थिए।
वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले पार्टीभित्र भागवण्डा खोजेको नभई विधानसम्मत ढंगले पार्टीलाई अघि बढाएर पार्टी बचाउन खोजेको दाबी गरेका थिए।
उनले पार्टीभित्र अनेक बहानामा जथाभावी गर्ने कार्य अस्विकार्य हुने बताउँदै तत्काल कार्यतालिका बनाएर अघि बढ्न माग गरेका थिए।
गत पुसमा सम्पन्न महासमिति बैठककैबीचमा केन्द्रीय कार्यसमितिको बैठकमा ०७६ फागुन ७ गतेभित्र १४औं महाधिवेशन गर्नेगरी कार्यकालितका पेश गरेका पौडेलले आफूले त्यतिबेला अघि सारेको कार्यतालिका अनुसार अघि बढेको भए अहिले धेरै विषय सुल्झिइसकेको हुन सक्ने भन्दै गुनासो गरेका थिए।
त्यसका बाबजूद अझै पनि सबै तहकोे संरचना निर्माणका लागि विधान र विधिसम्मत ढंगले अघि बढ्न बसेर छलफल र सहमतिमार्फत निकास खोज्न उनले नेतृत्वलाई सुझाव दिएका थिए।
त्यसअघि उपसभापति विजयकुमार गच्छदारले आफू लोकतन्त्रमा विश्वास गर्ने भएकै कारण देशमा कम्युनिष्टहरुबीचको एकता र तालमेल पश्चात प्रजातन्त्र बलियो बनाउने उद्देश्यले कांग्रेसमै फर्किए पनि आफ्नो पुरानो पार्र्टीका नेता कार्यकर्ताको भविश्य अन्यौलमा पारेकोमा गुनासो गरेका थिए।
गत आम चुनाव अगाडि पार्टीका प्रत्येक तहका नेताले आफूलाई पुनः पार्टीमै फर्किन गरेको आग्रह र सबैले चाहेर कांग्रेसमा फोरम लोकतान्त्रिकलाई मिलाएपनि अहिलेसम्म उक्त पार्टीका क्रियाशील नेता र सदस्यको विषयमा समायोजन नटुंग्याउँदा अलपत्र कार्यकर्ता पार्टी छोड्ने कि के गर्ने भन्ने अवस्थामा रहेको भन्दै आक्रोस व्यक्त गरेका थिए।
विधान बमोजिम गठन हुने अन्तरिम संरचनामा आफ्नो पार्टीका क्रियाशील सदस्यहरुलाई बाहिर राख्ने प्रस्तावबारे आपत्ति जनाउँदै गच्छदारले गत महासमिति बैठकमा समेत कतिपय सदस्यहरुलाई प्रवेश दिएको अवस्थामा अब अन्तरिम संरचना बनाउँदा बाहिर राख्ने हो भने त्यी महासमिति सदस्यको सदस्यता खारेज गर्ने हो भनि प्रश्न गरेका थिए।
कांग्रेसमा समायोजनको विषय टुंगो लगाउन उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको छ। उक्त समितिले क्रियाशील सदस्यता लगायतका विषयमा आपसी छलफल गरी टुंगो लगाउने जिम्मेवारी पाएपनि पछिल्लो समय फोरमबाट आएका सदस्यको क्रियाशील सदस्यता विवरणमा कतिपय जिल्लामा विवाद उत्पन्न हुन थालेको छ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधान बमोजिम अघि बढ्न पार्टीको क्रियाशील सदस्यता सूचि कतिपय जिल्लाबाट प्राप्त भएपनि कतिपय जिल्लाबाट आउन अझै बाँकी रहेको र अघिल्लो महाधिवेशनको सूचिमा हार्डकपी मात्रै केन्द्रसँग भएको जानकारी दिएका थिए।
आजको छलफल पश्चात नेताहरुले विधानको दफा ७२ बमोजिम अन्तरिम संरचना गठनको विषयबारे केन्द्रीय समितिमा जारी अन्य विषयमाथिको छलफलकै क्रममा आपसी परामर्श र सहमतिबाट टुंगो लगाउने तयारी भइरहेको बताइएको छ।
अर्को बैठक बुधबार अपरान्ह ३ बजेका लागि डाकिएको छ।
प्रकाशित मिति: शनिबार, साउन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय