नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १३औं महाधिवेशनको प्रतिनिधिहरुमध्येबाट तत्काल विधानको दफा ७२ बमोजिमको अन्तरिम संरचना निर्माण गरी १४औं महाधिवेशनको तयारीमा जुट्न नेतृत्वलाई दबाब दिएका छन्।
पार्टीको जारी केन्द्रीय कार्यसमितिमा आइतबार बोल्दै नेता सिंहले विधान बमोजिम अन्तरिम संरचना बनाउँदा १३औँ महाधिवेशनका प्रतिनिधिहरु मार्फत गर्न मात्र प्रस्ताव गरेनन्। उनले झण्डै दुई वर्षअघि कांग्रेसमा पार्टी एकीकरण गराएका उपसभापति विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट आएका महासमिति सदस्यलाई उक्त प्रक्रियाबाट बाहिर राख्न पनि प्रस्ताव गरेको एक नेताले बताए।
गच्छदारलाई पार्टीको उपसभापति तथा गत महासमिति बैठकमा २ सय प्रतिनिधिले सहभागिता गर्ने अवसर पाएको र अन्य क्रियाशील सदस्य तथा महाधिवेशन प्रतिनिधिको विषयमा समायोजन समितिमा छलफल चलिरहेको बेला सिंहको प्रस्तावले गच्छदार पक्षलाई सशंकित तुल्याएको छ।
सिंहले नेतृत्वको कार्यशैलीका कारण विधान अनुसार एक वर्ष कार्यकाल थप गर्दा पनि पार्टीको महाधिवेशन निर्धारित समयभित्र हुने नहुने आशंका रहेको बताउँदै अब अन्तरिम संरचना बनाउने विषयमा ढिला गर्न नहुने धारणा राखे।
सिंहको भनाइप्रति विमति जनाउँदै बालकृष्ण खाँणले कुनै पार्टीबाट कांग्रेसमा आएकालाई अहिलेको प्रक्रियामा भाग लिन नदिएर अर्को महाधिवेशनबाट मात्रै सहभागी गराउने कुराले संगठनको हित नगर्ने धारणा राखेका थिए।
नेतृत्वको आलोचना गर्नेक्रममा उनले १३औं महाधिवेशनका प्रतिनिधिहरुको सूचि अहिलेसम्म केन्द्रसँग नहुने आश्चर्यको विषय भएको बताए। जब कि १३औं महाधिवेशन सम्पन्न हुन अगाडि सिंह स्वयं नै पार्टीको निर्वाचित महामन्त्री थिए। जसले उक्त महाधिवेशनका प्रतिनिधिहरुको सूचिसहित पार्टीका अन्य महत्वपूर्ण दस्तावेज नयाँ नेतृत्वलाई बुझबुझारथ गर्नु पर्ने थियो।
सिंहले प्रतिनिधिको सूचिबारे व्यक्त गरेको धारणाप्रति असहमति जनाउँदै उपसभापति विमलेन्द्र निधिले अघिल्लो महाधिवेशनका प्रतिनिधिको कुनै सूचि नभएको भन्ने कुरा सत्य नभएको बताउँदै त्यसमा बरु कुनै जिल्लाको हार्ड कपी त कुनैको सफ्ट कपी भएको जानकारी दिए। साथै उनले पुरानो स्थानीय र जिल्ला संरचना अनुसार रहेको सूचिलाई नयाँ संरचना बमोजिम मिलाउने कार्य भने भइनसकेको बताएका थिए।
त्यसैगरी घुमाउरो पाराले असहमति जनाउँदै महामन्त्री पूर्णबहादुर खड्काले अघिल्लो कार्यसमितिले दिएको रेकर्ड नै त्रुटिपूर्ण रहेको भन्दै सिंहको भनाईको प्रतिवाद गरेका थिए।
त्यसैगरी केन्द्रीय सदस्य रमेश रिजालले १४औं महाधिवेशनमा जानका लागि सबै नेताहरु नमिलेर सुखै नभएको बताउँदै त्यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रामशरण महत, अर्जुननरसिंह केसी, मीनेन्द्रप्रसाद रिजाल र महेश आचार्यले सहमतिको वातावरण बनाई समयमै अधिवेशनको लागि कार्यक्रम बनाउन सुझाव दिएका थिए।
वरिष्ठ नेता पौडेलप्रति लक्षित गर्दै उनले वरिष्ठ नेताले नियमावली मस्यौदा समितिमा आफ्ना विश्वासी पात्र पठाएर उनीहरुले गरेको कामप्रति अविश्वास गर्दा समस्या बल्झिएको दाबी गरेका थिए।
विधानको दफा ७२ को उपदफा ४ बमोजिम अन्तरिम संरचना निर्माण गर्दा तल्लो तहमा पनि सहमतिको सम्भावना नरहेको भन्दै जे जसरी हुन्छ निर्वाचनको प्रक्रियामा जानुको विकल्प नभएको पनि बताए।
त्यसैगरी असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवालाई धम्क्याएर, घुक्र्याएर वा तर्साएर पार्टीभित्र समाधानको बाटो ननिस्कने जिकिर गर्दै जे जसरी हुन्छ असन्तुष्ट पक्षले पनि सभापतिलाई फकाएरै निकास खोज्न सुझाव दिएका थिए।
आजको बैठमा अन्तरिम संरचना गठनको विषयमा अधिकांशले सहमतिको विषयमा जोड दिएपनि रिजाल, उमाकान्त चौधरी र हृदयराम थानीले सहमतिको रटान मात्रै गरेर हुने स्थिति नभएको भन्दै निर्वाचनकै माध्यमबाट अघि बढ्न ढिला गर्न नहुने धारणा राखेका थिए।
कतिपय असन्तुष्ट पक्षका नेताहरुले देशमा संक्रमणकाल नभएको अवस्थामा विधानकोे संक्रमणकालिन दफा क्रियाशील गराउन आवश्यक नरहेको धारणा राखिरहेकै बेला अतहरकमाल मुसलमानले कांग्रेसको नयाँ विधान र यसले परिकल्पना गरेको व्यवस्था आफैँमा संक्रमणकालयुक्त भएको बताएका थिए।
उनले राजाको शासनकालमा मात्रै संक्रमणकाल नभएको भन्दैैै वर्तमान सरकारका र यसकोे नेतृत्वको गतिविधिका कारण पनि देशको लोकतन्त्र संक्रमणकाल तर्फ धकेलिएको बताउँदै आन्तरिक विवादमा नअल्झिएर संगठनलाई सहमतिको माध्यमबाट गति दिन सुझाएका थिए।