राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा जोड दिएका छन् यादवले जनताको अपेक्षाबमोजिम यो सरकारले अझै परिवर्तनकारी काम गर्न नसकेको बताए ।
संयोजक यादवले देशको अहिले आर्थिक अवस्था कमजोर रहेको, नेपाल राष्ट्र बैंकसँग आठ महिनाका लागि मात्र मुद्रा सञ्चिति रहेको, व्यापारघाटा र सोधान्तरस्थिति बढेको तथा नेप्से सूची कमजोर भएको उल्लेख गरे।
एक प्रसङ्गमा उनले वर्तमान संविधानले पूर्णता पाइनसकेको र संशोधन गर्नुपर्ने भएपनि सरकारले यसमा जिद्दी गरिरहे फेरि आन्दोलन हुने बताए। बर्सेनी पहाडमा पहिरो आउने तथा मधेश जलमग्न हुने स्थिति रहेकाले यसलाई नियन्त्रणमा ध्यान दिनुपर्ने, बाढीपहिरो प्राधिकरण गठन गरी आकाशको पानी सङ्कलन तथा उपयोग नीति बनाउनुपर्नेमा पनि संयोजक यादवले जोड दिए।
पार्टीको सिद्धान्त तथा विचार मिल्ने पार्टीसँग एकीकरण गरिने र यसका लागि समाजवादी पार्टीबाहेक साना पार्टीहरुसँग कुराकानी भइरहेको छ भन्दै उनले आफ्नो दलको महाधिवेशन सफल बनाइने र संसद्मा बलियो प्रतिपक्ष आवश्यक भएकाले पार्टीको विचार मिल्ने मुद्दामा नेपाली काँग्रेससँग सहकार्य गरीसशक्त भूमिका निर्वाह गरिने पनि बताए। रासस
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय