हिमाल दैनिक
राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे । उनले भने,
‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं । तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन् । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं ।’
यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेको आरोप लगाए । उनले भने,‘यो सरकारले लोकतन्त्रलाई संकुचित गर्दै अघि बढेको छ । संसदभित्र विपक्षीको भूमिकालाई अझै मजबुद बनाउनुपर्छ । यसको लागि हामीले कांग्रेससँग कार्यगत एकता गरेका छौं ।’ लोकतन्त्रको सवालमा, जनताको जनजीवीकाको सवालमा, शान्ति र सुशासनको सवालमा, सुशासनको सवालमा कांग्रेससँग एक ठाउँमा रहनेपनि उनले जनाए । वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको यादवको आरोप छ । उनले भने,‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहाँसिक अवसर थियो । डिपार्चरको काम गर्नुपर्दथ्यो । तर, सरकारले विश्वास जगाउन सकेन् ।’ ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको उनको दाबी छ । उनले थपे,‘सबै मोर्चामा यो सरकार असफल छ ।’ सरकारले अहिलेसम्म निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारवाही गर्न नसकेको यादवको आरोप छ । उनले भने,‘हत्यारा पत्ता लगाउनु त परै जाओस्, सरकारको तर्फबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आईरहेका छन् । अहिले महिलाहरुको अस्मितामाथि खेलबाड भैरहेको छ । सरकार मुलुकमा शान्ति, अमनचयन कायम गर्न पूर्ण रुपमा असफल भैसकेको छ ।’ सरकार दिनहुँ काण्डै काण्डमा फसेको पनि यादवको आरोप छ । ‘देशको आर्थिक अवस्थामा गम्भिर समस्या छ’,उनले भने,‘अर्थतन्त्र कमजोर भएको छ । संचिति रकमले जम्मा ८ महिनाभन्दा बढि धान्न सक्ने अवस्था छैन् । अब यसलाई साधारण प्रक्रियाबाट धान्न सकिने अवस्था छैन् । सरकारले ¥याडिकल कदम चाल्नुपर्छ । व्यापार घाटा बढिरहेको छ । शोधान्तर बढेको छ । नेप्से पनि कमजोर भएको छ ।’
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update