कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब एक वर्ष पुग्न लाग्दा पनि दोषी पत्ता लगाई कानूनी कारबाही गर्न असफल गृहमन्त्रालयले उक्त घटनालाई सामान्य घटनाको रुपमा चित्रण गरेर आफ्नो असफलता ढाकछोपको प्रयास गरेको छ।
पन्तको हत्या भएको पनि ठिक एक वर्ष पुग्न तीन दिन अगाडि मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त प्रकरण कुनै नयाँ कुरा नभएको अभिव्यक्ति पनि दिए।
निर्मला पन्तको हत्या लगत्तै गत वर्षको साउनमा राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री थापाले बलत्कारका घटना पूँजीवादको कारण भएको र यसकिसिमका घटना नेपालमात्र नभई सबैभन्दा बढि पूँजीवादी राष्ट्र अमेरिकामा हुने धारणा राखेपछि उनको चौतर्फी विरोध र आलोचना भएको थियो।
‘यो घटना पहिलो घटना होइन,’ गृहमन्त्री थापाले थप्दै भने, ‘यस किसिमका निर्मला प्रकरणहरु यो भन्दा अगाडी नै पनि थिए, आज पनि छ र भोलि पनि केहि समयसम्म रहनेछ।’
उनले अहिलेको अवस्थामा यस किसिमका अपराधहरु पूर्णता रुपमा निषेध गर्न नसकिने पनि जिकिर गरे।
https://www.facebook.com/himaldainik/videos/392774941365103/
गृहमन्त्री थापाले यो बिषयलाई उठाएर सदन, सडकमा भईराखेको विरोधप्रति असन्तुष्टि व्यक्त गरे। विशेषगरी संसदका अधिकांश बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि कतिपय सत्तापक्षकै महिला सांसदले समेत निर्मला प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएकोप्रति गृहमन्त्री थापाले विपक्षी दल कांग्रेसले यस घटनालाई राजिनितिकरण गर्न खोजेको आरोप पनि लगाए।
उनले बेलाबखतमा गृहमन्त्रालयले यो घटनासंग जोडिएका अपराधीहरुलाई बचाउन खोजेको भन्ने भ्रमपूर्ण सन्देश फैलाउनु दुःखद कुरा भएको बताए।
पीडितलाई न्याय दिने कुरामा लाग्नुपर्ने भन्दै यसलाई राजनीतिकरण नगर्न नागरिक समाज, मिडिया, राजनीतिक दलहरुलाई आग्रह गरे।
यस्ता घटनामा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको तथ्यांक पत्रकार सम्मेलनमार्फत गृहमन्त्री थापाले प्रस्तुत गरे।
गत साल कंचनपुरमा साउन १० गते १३ बर्षिय निर्मला पन्त हराएकी थिइन् र साउन ११ गते उनको लास उखुबारीमा भेटिएको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनको बलात्कारपछि हत्या भएको बताएको थियो।
तर, त्यसपछि उक्त घटनाको विषयमा कञ्चनपुदेखि काठमाडौंका सडक र सदनदेखि सरकारका प्रधानमन्त्री र गृहमन्त्रीका अतिरिक्त राष्ट्रपतिको ध्यानाकर्षण गराउने अभियान जारी रहेपनि सरकारले उक्त घटनाका दोषीहरु अहिलेसम्म पक्रन सकेको छैन।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय