नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको आरोप लगाएका छन्।
बी.पी. कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘बी.पी.को विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अबरुद्ध तुल्याउन खोजिए सह्य नहुने चेतावनी दिए।
सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका देउवाले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढङ्गले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक सङ्घर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ। मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउने ढङ्गबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ।’
अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको बताउँदै उनले व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको आरोप लगाए।
बी.पी.को विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने बताउँदै सभापति देउवाले भने, ‘बी.पी.को विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उनको व्यक्तित्व साच्चिकै असाधारण छ।’
राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ बी.पी.लाई राष्ट्रप्रति माया भएकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्किएको बताउँदै उनले मुख्य कुरा भनेको प्रजातन्त्र हो, प्रजातन्त्रविनाको समाजवाद हुँदैन भन्ने बी.पी.को प्रष्ट धारणा रहेको बताए।
उपसभापति विमलेन्द्र निधिले बी.पी.ले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सार्नुभएकाले देशका लागि प्रजातन्त्र नै अपरिहार्य शर्त हो भन्ने पक्षलाई सबैले मनन गर्नु पर्नेमा जोड दिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले बी.पी.को विचारले निकै ठूलो उचाइ प्राप्त गरेको बताउ।
उनले भने, ‘अहिले मुलुकका सबै राजनीतिक दलका नेतृत्वको प्रेरणको स्रोत बी.पी. भएको र सबैले गौरवका साथ स्वीकार गरेको अवस्था हो, राजा र कम्युनिष्टले बिपी विचारलाई बुझेको भए यो देश र यहाँका र जनताले यति धेरै दुःख भोग्नुपर्ने थिएन।’
प्रतिष्ठानका संस्थापक ढुण्डिराज शास्त्रीले बिपीले लिनुभएको प्रजातान्त्रिक समाजवादको बाटो लोकतान्त्रिक सिद्धान्त र मानव कल्याणको उचित गन्तव्य थियो भन्ने विद्यमान राजनीतिक घटनाले पुष्टि गरेको धारणा व्यक्त गरे।
सभापति देउवाले बिपी र कृष्णप्रसाद भट्टराईको तस्बीरमा माल्यार्पण गर्नाका साथै प्रतिष्ठानका संस्थापक एवं पूर्व मन्त्री शास्त्रीलाई सम्मान र प्रतिष्ठानद्वारा प्रकाशित ‘शहीद’ नामक पुस्तक लोकार्पण गरेका थिए। रासस
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय