प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टीको अनुमतिवीना नै सत्तापक्षले तयार पारेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा समर्थक बसेर पार्टी अनुशासन विपरित कार्य गरेका छन्।
असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानमा परि ठूलो संख्यामा जनधनको क्षति भएको विषयमा पीडितको राहत तथा पुनस्थपानका लागि सदनले सरकारलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिने उद्देश्यले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद प्रभु साहले शुक्रबार जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए।
सत्तारुढ समाजवादी पार्टी नेपालका सांसद उमाशंकर अरगरियासँगै कांग्रेस सांसद सिंहले पनि उक्त प्रस्तावमा समर्थक बन्दै प्रतिनिधि सभा सचिवालयमा प्रस्ताव दर्ता गरेपछि प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलभित्र गम्भिर बहसको विषय बनेको छ।
खासगरी, विपक्षी दल कांग्रेसले सर्लाहीमा असार पहिलो र दोस्रो साता भएको प्रहरी कारबाहीमा नेकपा विप्लव समूहका नेता कुमार पौडेलसहित एक स्थानीयको हत्या भएको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै सदनको कारबाही अबरुद्ध गर्दै आएको छ।
त्यहिबीचमा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान समस्या उत्पन्न भइ ठूलो संख्यामा जनधनको क्षति भएपछि कांग्रेसले असार ३० गतेको प्रतिनिधि सभा बैठकमा अन्य विषयमा प्रवेश नगरी बाढी, पहिरो र डुबानको विषयमा मात्रै छलफल केन्द्रित गरी पीडितको उद्दार, राहत र पुनस्थापनाकाका लागि सरकारलाई निर्देशन दिने मागसहितको स्थगन प्रस्ताव कांग्रेसले दर्ता गरेको थियो। तर, सत्तापक्ष उक्त स्थगन प्रस्तावमाथि छलफल गर्न तयार नभएपछि सभामुख कृष्णबहादुर महराले साउन ८ गतेसम्मका लागि सूचना प्रकाशित गर्दै संसदको बैठक स्थगित गरेका थिए।
यसका अतिरिक्त सदनको अबरोध खुलाउने विषयमा सरकार र सत्तापक्षले प्रमुख प्रतिपक्षी दल कांग्रेस र यसको नेतृत्वसँग वार्ता र सहमतिको कुनै प्रयास नगरीरहेकोबेला कांग्रेसकै सांसद सिंहले सत्तापक्षको प्रस्तावमा पार्टीलाई जानकारी नै नदिई समर्थकको रुपमा हस्ताक्षर गरेपछि कांग्रेस संसदीय दलभित्र सिंहको कदमलाई अनुशासन विपरितको कार्यका रुपमा लिइएको छन्।
उक्त विषयमा पार्टीसँग परामर्श भए नभएकोबारे राखिएको जिज्ञासामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुषाल गौतमले आफूहरुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
दलको जानकारी र अनुमतिवीना किन सत्तारुढ दलको नेताले तयार पारेको प्रस्तावमा समर्थक बस्नु भयो भन्ने हिमाल दैनिकको जिज्ञासामा सांसद सिंहले लालबकैया, बाग्मती र कमला नदी क्षेत्रका तीन जना जनप्रतिनिधिले आफ्नो निर्वाचन क्षेत्रमा भएको बाढी र डुबानको समस्याबारे सदनमा आवाज उठाउने सल्लाहमा समर्थक बनेको बताए।
दलसँग परामर्श नगरी अथवा पूर्वजानकारी नदिई हस्ताक्षर गरेको विषयमा सिंहले आफू दलको सदस्यमात्र नभएर जनप्रतिनिधि पनि भएको भन्दै आफ्नो क्षेत्रमा बाग्मतीले पुर्याएको क्षतिबारे सदनमा आवाज उठाउनु र सरकारलाई राहत तथा पुनस्थापनाको लागि घच्घच्याउने दायित्व आफ्नो भएको दाबी गरे।
यसका अतिरिक्त उनैको गृहजिल्ला सर्लाही घटनाको विषयमा दलले सदन अवरुद्ध पारेको अवस्थामा समर्थक बस्नु कति उपयुक्त हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘म अहिलेमात्र होइन, पहिले पनि दुई पटक सांसद भएको हुँ। त्यतिबेला पनि यस्ता प्रस्तावमा सत्ता र प्रतिपक्षी दलका सदस्यहरुले प्रस्तावक र समर्थक बन्ने परम्परा थियो। राष्ट्रिय सभामा पनि यस्तै प्रस्तावमा सत्ता र प्रतिपक्षीले संयुक्त रुपमा प्रस्ताव दर्ता गरी छलफल गरेका छन्। तैपनि यसबारे आइतबार म सम्बन्धित पक्षसँग छलफल गरेर बुझेपछि त्यो प्रस्तावमा समर्थक बस्ने वा नबस्ने निर्णय लिन्छु।’
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय