हिमाल दैनिक
नेपाली कांग्रेसले पार्टीको १३औं महाधिवेशन पूर्व क्रियाशील सदस्यता छानविनका लागि तत्कालिन सभापति सुशील कोइरालाले नेता नरहरि आचार्यको संयोजकत्वमा समिति गठन गरेका थिए। उक्त समितिले देशभरीबाट प्राप्त विवरणका आधारमा क्रियाशील सदस्यता छानविन गरी त्यसलाई आधुनिक प्रविधिको सहायतामा प्रतिवेदनसहितको सफ्टवेयर बनाई पार्टीलाई बुझाउने भन्दै लाखौं रुपैयाँ लिएर त्रिपुरेश्वरस्थित एक भवनमा कार्यालय पनि स्थापना गरेको थियो। उक्त समितिले दिएको प्रतिवेदनका आधारमा पार्टीको १३औं अधिवेशन सकिएको पनि आज साढे तीन वर्ष पुग्न लागिसक्यो। तर, पार्टीसँग भने उक्त समितिले तयार पारेको प्रतिवेदन त परैजाओस् तत्कालिन निर्वाचन समितिसँग पनि पार्टीका बुथ प्रतिनिधिहरुको सूचि पनि छैन। जसको कारण कांग्रेसको संशोधित विधानको दफा ७२ को उपदफा (४) को प्रावधान बमोजिम संघ, प्रदेश निर्वाचन क्षेत्रीय समितिदेखि स्थानीय तह र वडासम्म अन्तरिम कार्यसमिति गठनको मुख्य आधार अहिलेसम्म पार्टीले पाउन सकेको छैन। पार्टीको १३औं महाधिवेशनमा सहभागी पार्टीका वडा, गाउँ, नगरपालिका र क्षेत्रीय प्रतिनिधिहरुको नामावलीको सूचि अहिलेसम्म पार्टीको कुनै निकायमा नभेटिएपछि पार्टीको अन्तरिम कार्यसमिति कसरी चयन गर्ने भन्ने सकस उत्पन्न भएको हो। सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलका क्रममा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका सक्रिय सदस्यहरुको नामावलीदेखि वडा, गाउँपालिका, नगरपालिका, निर्वाचन क्षेत्रका प्रतिनिधिहरुको विवरण राधेश्याम अधिकारीको नेतृत्वमा रहेको तत्कालिन केन्द्रीय निर्वाचन समितिसँग र नरहरि आचार्यको नेतृत्वमा गठित सक्रिय सदस्यता छानविन समितिसँग पनि नभएको जानकारी दिए। खड्काले दिएको जानकारीबारे हिमाल दैनिकसँग कुरा गर्दै एक नेताले भने अहिलेसम्म केन्द्रले माग गरेपछि करिब ३० जिल्लाबाट सूचि प्राप्त भएपनि बाँकी जिल्लाबाट आउन नसकेको जानकारी महामन्त्री खड्काले दिए। त्यसका अतिरिक्त पार्टीको सक्रिय सदस्यता छानविन तथा अध्यावधि गर्न तत्कालिन सभापति सुशील कोइरालाले गठन गरेको समितिका संयोजक नरहरि आचार्यको नेतृत्वको समितिले आफूले तयार पारेको अन्तिम नामावली पनि पार्टीलाई बुझाएको छैन। केन्द्रीय कार्यालयमा बसेर काम गर्न कठिनाई हुने भन्दै त्रिपुरेश्वरस्थित आलिसान महलमा कार्यालय नै स्थापना गरी सदस्यताको विवरणसहितको सफ्टवेयर पार्टीलाई बुझाउँने भन्दै पार्टीबाट लाखौँ रुपैयाँ लिएर उपक्त समितिले काम गरेको थियो। तर, अहिलेसम्म आफ्नो प्रतिवेदन पार्टीलाई नदिएको जानकारी सभापतिले पाएपछि उनी लगायतका नेताहरु पनि आश्चर्यचकित भएका थिए। सफ्टवेयरमा सक्रिय सदस्यहरुको नामावलीसहितको प्रतिवेदनबारे पदाधिकारीहरुले हालै सोधखोज गरेपछि नेता आचार्यले जिम्मा दिएका व्यक्तिहरुले अबको एक हप्तासम्ममा उक्त प्रतिवेदन पार्टीलाई बुझाउने आश्वासन दिएको बताइएको छ। पुरानो विधान अनुसार, वडादेखि क्षेत्रीय प्रतिनिधिहरुको सूचि जिल्ला जिल्लामै राख्ने प्रचलनको कारण पनि राधेश्याम अधिकारीको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन समितिसँग पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुको बाहेक अरुको नामावली नरहेको एक सदस्यले बताए। यस्तो अवस्थामा वडा र क्षेत्रीय बुथ प्रतिनिधिहरुको नामावली अब सम्बन्धित जिल्ला कार्यसमितिले केन्द्रलाई उपलब्ध गराएको आधारमा नै अन्तरिम कार्यसमिति गठन प्रक्रिया हुने छ। त्यस अवस्थामा हुन सक्ने अनियमितता र विवाद कम गराउने नेतृत्वले उक्त नामावली सम्बन्धित निकायमा केही दिन अगावै प्रकाशित गरिदिने तयारी गरेको छ। जसले गर्दा कतिपय क्षेत्रमा थपघट भएका नामको विषयमा सरोकारवालाहरुले दाबी विरोध गरी सच्याउन सक्ने अवस्था पनि रहने छ।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update