हिमाल दैनिक
नेपालीमा एउटा चर्चित उखान छः बोल बोल मछडी मुखभरी पानी। माछाले बोल्न खोज्यो भने उसको मुखभरी पानी भरिन्छ रे। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावललाई यस्तै भएको छ। देशका कुनै पनि राष्ट्रिय मुद्दा र जनजीविकाका सवालमा उनी नबोली बस्नै सक्दैनन्। पछिल्लो समय जब उनी कुनै पनि विषयमा बोल्दछन्, आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीदेखि प्रधानमन्त्रीका ‘अरिंगाल’ रुपी सल्लाहकारहरुले ‘विदेशीले दुःख दिन छाडेका छौंडा’को उपमा पाउँछन्। तर, पनि उनी बोल्न छोडेका छैनन्। विगत केही दिनदेखि परेको अविरल वर्षासँगै तराईको सीमाक्षेत्र नजिक भारतले बाँधेको बाँधको कारण नेपाली भूभाग जलमग्न भएपछि शनिबार रावलले एउटा ट्वीट गरे। जसमा उनले अन्तर्राष्ट्रिय कानून विपरित बनाइएका बाँधका कारण तराइका रौतहट, जनकपुर लगायतका क्षेत्रमा डुबान भयो त्यसैले बाँधका ढोका खोल्न भन्दा भारत विरोधीको आरोप लाग्ने चिन्ता व्यक्त गरेका छन्। त्यसैगरी डुबानबारे दुई देशबीचको वार्ता समितिको कार्यप्रगति के भयो भन्दा सरकार विरोधी ठहरीने चिन्ता व्यक्त गरेका छन्। रावलले ट्वीटरमा भनेका छन्, ‘रौतहट जिल्ला डुब्दा अन्तर्राष्ट्रिय कानून विपरीत बनाइएको बाँधको ढोका भारतले नखोल्ने, धनुषा लगायतका जिल्लाहरू जलमग्न हुने स्थिति अनुचित भयो भन्दा पनि भारतको विरोध भन्ने हुन्छ कि? डुबानबारे हुने भनिएको नेपाल-भारत वार्ता कहाँ पुग्यो भन्दा सरकारको विरोध ठहरिने हो कि? देश सार्वभौम हो।’
प्रकाशित मिति: बुधबार, असार २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update