हिमाल दैनिक
कुमार पौडेलको परिवारले भन्योः यो नियोजित हत्या हो, स्वतन्त्र छानबिन हुनुपर्छ
Kala Poudel
दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ। शक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपुर्वक हत्या भएकोे दाबी गरेको छ। घट्नाको बारेमा बोल्दै मृत्तक पौडेलका भाई हरिकृष्ण पौडेलले प्रहरीसंग मुठभेड नभई प्रहरीले नियन्त्रणमा लिएर हाँतखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाए। उनले आफ्ना दाईको राजनितिक जीवनको बारेमा स्वयम सरकारमा रहेकाहरु पनि जानकार रहेको बताउँदै झुटा आरोप लगाएर माथिकै ठाडो निर्देशनमा मारिएको बताए। ‘यदि त्यो नियोजित हत्या थिएन भने बारादेखि धनुषासम्मको प्रहरी त्यहाँ कसरी पहिल्यै आईपुग्यो?’उनले प्रश्न गरे। सादा पोशाकमा रहेका प्रहरीले दाजुको हत्या गरेको जनाउदै उनले चार ठाँउमा भाँच्चिएको हात नजिकै हतियार राखेको फोटोहरु आफुसंग प्रमाणको रुपमा सुरक्षित रहेको बताए। ‘हात भाँच्चिएको मानिसको त्यति नजिकै कसरी हतियार रहनसक्छ?’ उनको आक्रोस छ। त्यस्तै, उनले सरकारले घट्नाको बारेमा सत्य, तथ्य बाहिर ल्याउनको लागि स्वतन्त्र छानविन समिती गठन गर्न पनि आनाकानी गरेको गुनासो पोखे। केही समाचारमा दाईको बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापासंग चन्दा मागेका विषयमा वास्तविक कुरा नै नबुझेर गलत तरिकाले समाचार सम्प्रेषण गरिएको भन्दै उनले दुःखेसो पोखे। उनले सागरनाथ वन विकास परियोजनाअन्र्तगत रहेको सुकुम्बासीको बिषयलाई उठाएका कारण दाइको हत्या भएको आरोप लगाए। सरकारले थापासंग चन्दा मागेको भन्ने गलत आरोप लगाएको उनको दाबी छ। उनले भने, ‘हामीमाथि झुठो आरोप लगाईयो, ठूलो पीडामा छ। स्वतन्त्र न्यायिक समिति बनाएर हामीलाई न्याय दिनुपर्छ।’ परियोजनाको जग्गाामा रहेका सुकम्बासी व्यवस्थित् गर्न परियोजनासंग भएको पाँच बुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाई छ। सो मुद्दालाई अख्तियारले हेर्दे आएको र छानविन गरेर राजनीति तथा सुकम्बासीको हकहितमा बोलेको भन्दै अहिलेसम्मपनि नबोलाएको पनि उनले जनाए। ‘मुद्दा तामिलिमा छ, अहिलेसम्म कुनै टुँगो लागेकोे छैन,’ उनले भने। परियोजनासंग भएको पाँच बुदे सहमति कार्यान्वयनको लागि आवाज उठाउँदा चन्दा आरोप लगाएर सरकारी मान्छेले नै आफ्ना दाजुलाई मारेकोे उनको आरोप छ। त्यस्तै कार्यक्रममा बोल्दै मृतकप पौडेलकी श्रीमती कला पौडेलले पनि आफ्ना श्रीमान्लाई षड्यन्त्रपूर्वक मारेको दाबी गरिन्। छानविन समितिले स्वतन्त्र रुपमा छानबिन गरेर आफ्नो श्रीमानको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने उनको माग छ। श्रीमानलाई कुनै दबाव वा असूरक्षाको बारेमा कुनै जानकारी नभएको बताउँदै उनले भनिन्, ‘श्रीमानले पनि कुनै त्यस्तो अप्ठ्यारो छ भन्ने कुरा कहिल्यै गर्नुभएको थिएन।’ दोषीलाई कानुनी कारवाही गर्नुपर्ने अनिमात्रै आफूहरुले न्याय पाउने उनको भनाई छ। त्यस्तै, मृत्तक पौडेलकी दिदी लक्ष्मी पौडेलले यातना दिएर आफ्नो भाईको हत्या गराएको दाबी गरिन्। उनले आफुहरुलाई कुनै जानकारी नै नदिई प्रहरीले पोष्टमार्टम गराएको पनि सुनाईन्। उनले प्रश्न गरिन्, ‘पोष्टमार्टम गर्नु अगाडी प्रहरी प्रशासनले हामीलाई जानकारी गराएन? म सरकारलाई सोध्न चाहन्छु।’ आफुहरुलाई शव कुहिएको अवस्थामा दिइएको जनाउदै उनले अहिले सम्मपनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरिएकोमा आपत्ति जनाइन्।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update