हिमाल दैनिक
भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्न भारतले पठाएको दबाबमूलक पत्रको विषयमा सञ्चारमाध्यम र आफ्नै दलका नेता तथा सांसदमाथि समेत खनिएर प्रतिवाद गरेका प्रधानमन्त्री केपी शर्मा ओली उक्त पत्र सार्वजनिक भएपछि भने प्रतिरक्षात्मक बन्न पुगेका छन्। संसदीय दलको बैठकमा समेत नेताहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा कुन पत्र र कहाँको पत्र भनि उल्टै हप्कीदप्की गरेका प्रधानमन्त्री ओलीले बिहीबार भने निरीहपन देखाउँदै आफूलाई उक्त पत्रबारे जानकारी नदिइएर झुक्याइएको भन्दै त्यसको दोष अरुमाथि थोपार्ने प्रयास गरे। बिहीबार राजधानीमा आयोजित संबिधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना बिषयक राष्ट्रिय कार्यशाला कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइएको दाबी गरे। प्रधानमन्त्री ओलीले यसप्रति आफू क्षमाप्रार्थी रहेको भन्दै विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र आफूलाई जानकारी नदिनुले लज्जित हुनुपरेको पनि बताए। भारतीय दूतावासबाट आएको पत्र गोप्य राखेर ९ दिनपछि मात्रै थाहा पाउँदा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले यसबारे अनुसन्धान समेत भइरहेको जानकारी दिए। नेपालीको भान्सामा विषादी पाक्न नदिने भन्दै शुद्ध खाना खुवाउने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने समेत जिकिर पनि गरे।
प्रकाशित मिति: सोमबार, असार २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update