हिमाल दैनिक
नेपाली कांग्रेसभित्र अल्पमत पक्षले तत्काल १४औं महाधिवेशनको कार्यतालिका बनाएर केन्द्रीय समितिमा छलफल गर्न राखेको प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्विकार गरेका छन्। सभापति देउवा विरुद्ध पछिल्लो समय मोर्चाबन्दीमा एकजुट भएका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी लगायतका नेताहरुले आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आगामी महाधिवेशनको तिथि, मिति र कार्यतालिका सम्बन्धी बेग्लै प्रस्ताव राख्न अडान लिएका थिए। अपरान्ह २ बजेका लागि डाकिएको बैठकपूर्व पार्टीका वरिष्ठ नेता पौडेल, सिटौलासहित पदाधिकारीहरुको बैठकमा प्रस्तुत हुने एजेण्डामा अल्पमत पक्षले तत्काल १४औं महाधिवेशनको मिति सम्बन्धी प्रस्ताव राख्न दबाब दिएपछि सभापति देउवा र उनको पक्षका नेताहरुबीच विवाद लम्बिएको थियो। बैठकको एजेण्डाबारे पदाधिकारीहरुले यसअघि नै तयार पारेको प्रारुपमा पौडेल लगायतका नेताहरुले महाधिवेशनको मितिसहितको कार्ययोजना पनि ल्याउन माग गरेको एक नेताले बताए। तर, देउवासहितका नेताहरुले नयाँ विधान बमोजिम पार्टीको संशोधित नियमावली पारित नभएसम्म र विधानको दफा ७२ को उपदफा ४ बमोजिम अन्तरिम व्यवस्था अनुसार जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र तथा स्थानीय तहमा अन्तरिम कार्यसमिति गठन नभएसम्म महाधिवेशनको कार्ययोजना आउन नसक्ने स्पष्ट धारणा राखेका थिए। त्यसपछि नेताहरुबीच बैठकलाई अनिर्णयको बन्दी नबनाउँन पदाधिकारीहरुको अनौपचारिक बैठकले तयार पारेको १४ बुँदे प्रस्तावको दोस्रो बुँदामा अधिवेशनको विषयमा उल्लेख गर्ने सहमति जुटेपछि आजका लागि विवाद साम्य भएको थियो। जसमा पहिले पदाधिकारीहरुले तयार पारेको प्रस्ताव नम्बर २ मा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसार गठन गर्ने सम्बन्धमा भन्ने उल्लेख थियो। तर, असन्तुष्ट पक्षको माग अनुसार पदाधिकारीहरुको छलफलमा उक्त बुँदामा जिल्ला, क्षेत्र, प्रदेश र स्थानीय तहको अन्तरिम व्यवस्था अनुसार कार्यसमिति गठन पश्चात १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धी प्रस्ताव थपिएको छ। अर्थात, पार्टीभित्र अल्पमत पक्षले तत्काल महाधिवेशनको कार्यतालिका माग गरेपनि पार्टी नेतृत्वले उनीहरुको चाहना र योजना विफल बनाउँदै आगामी भदौ तेस्रो साताअघि अन्तरिम व्यवस्था अनुसार तल्लो तहमा संगठनको नेतृत्व विधान बमोजिम गरेपछि मात्रै अधिवेशनको प्रक्रियामा प्रवेश गर्ने संकेत दिएको छ। पाँच घण्टाभन्दा बढि समय गुजार्दै साँझ ७ बजेपछि सुरु भएको बैठकको सुरुवात गर्दै सभापति देउवाले पार्टीले हालै सम्पन्न गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका सबै केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र स्थानीयत तहका सबै नेता, कार्यकर्ताहरुलाई अभियान सफल बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिए। त्यसपछि महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सम्भवत् यो केन्द्रीय कार्यसमितिको कार्यकालमै सबैभन्दा लामो १४ बुँदे प्रस्तावहरु छलफल र निर्णयका लागि पढेर सुनाएका थिए। जसअनुसार, आजको बैठकमा पहिलो बुँदामा रहेको नियमावली मस्यौदा समितिले तयार पारेको कांग्रेसको नियमावली २०७६ तयारी समितिका संयोजक एवं केन्द्रीय सदस्य रमेश लेखेकले समितिको प्रतिवेदन पेश गरे। उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुलाई अध्ययन गरी छलफलमा भाग लिन समय दिने उद्देश्यले असार २७ गतेसम्मको समय दिइएको छ। उक्त दिन अपरान्ह १ बजेदेखि बस्ने बैठकमा कांग्रेसले नियमावली मस्यौदामाथि गहन छलफल गरी आवश्यक परिमार्जन सहित पारित गर्नेछ। त्यसैगरी महामन्त्री खड्काले पेश गरेको प्रस्तावको १२ नम्बर बुँदामा वरिष्ठ नेता पौडेलको गृहजिल्ला तनहुँमा अनुशासनको कारबाहीमा परेका पूर्व नेता गोविन्दराज जोशी पक्षले गठन गरेको समानान्तर समिति र कार्यालयको सम्बन्धमा पनि छलफल गर्ने प्रस्ताव राखिएको छ। सभापतिको निर्देशानुसार महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेको एजेण्डाहरूः १ नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको “नेपाली कांग्रेसको नियमावली, २०७६” समितिका संयोजक केन्द्रीय सदस्य श्री रमेश लेखकद्वारा प्रस्तुत गरिने । २ पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा । ३ विधानको व्यवस्था अनुसार क्रियाशील सदस्यता नविकरण एवं वितरण सम्वन्धमा । ४ २०७६ बैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालन भएको पहिलो चरणको “हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को एकिकृत प्रतिवेदन प्रस्तुत गरिने । ५ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गरिने । ६ केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिने । ७ नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिने । ८ भातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने सम्बन्धमा । ९ पार्टी विधान अनुसार अवधि समाप्त भएका भातृ संघहरुका सम्वन्धमा । १० जनसम्पर्क समितिका सम्बन्धमा । ११ स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नीतिगत निर्देशन गर्ने सम्बन्धमा । १२ तनहु जिल्लामा अबैध रुपमा गठन भएको नेपाली कांग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्वन्धमा । १३ देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भ । १४ बिविध
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update