हिमाल दैनिक
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले तत्कालै पार्टीको १४औं महाधिवेशनको मिति तय नगरेसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने अडान लिएपछि आइतबार २ बजेका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठक अझै बस्न सकिरहेको छ। पार्टीको संशोधित विधान बमोजिम नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल र निर्णयसँगै विधानको दफा ७२ को उपदफा ४ बमोजिम संक्रमणकालिन व्यवस्था लगायतका विभिन्न एजेण्डामाथि छलफलका लागि सभापति शेरबहादुर देउवा पार्टीको बैठक बोलाएका थिए।
तर, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अजुननरसिंह केसी लगायतका नेताहरुले बैठक बस्नु अघि एजेण्डा टुंगो लगाउन बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकमा महाधिवेशनको मिति तय नगरी अघि बढ्न तयार नभएपछि कांग्रेस बैठक प्रभावित भएको हो। शनिबार बिहान एजेण्डा टुंगो लगाउन बोलाएको बैठकमा अनुपस्थित रहेका पौडेल चितवनबाट राजधानी फर्किएपछि आज बिहान ११ बजेका लागि डाकिएको केन्द्रीय समिति बैठक अपरान्ह २ बजेका लागि सारिएको थियो। ्त्यरसअघि अपरान्ह १ बजे पार्टी कार्यालयमा पदाधिकारीसहितको बैठकले एजेण्डा टुंगो लगाउने भनिएपछि उक्त बैठकमा असन्तुष्ट पक्षले विधान अनुसार चार वर्षको कार्यकाल भित्रै अर्थात फागुनसम्ममा अधिवेशन गराउने गरी मिति तय गर्न माग गर्दै अन्यथा बैठकमा सहभागी हुन नसक्ने अडान लिएको कांग्रेसका एक नेताले जानकारी दिए। अपरान्ह २ बजेदेखि बैठकमा सहभागी हुन पार्टी मुख्यालय पुगको केन्द्रीय सदस्यहरुमध्ये अल्पमत पक्षका कतिपय सदस्यहरु बैठक सर्ने जानकारी पत्रकारलाई दिँदै बाहिरिएका छन् भने सभापति देउवा पक्षका अधिकांश सदस्यहरु अझै पनि बैठकको पर्खाइमा बैठक हलमा कुरी बसेका छन्। साँझ ६ः३० बजे देउवा पक्षका एक सदस्यले हिमाल दैनिकसँग भने, ‘अल्पमतले बहुमतमाथि हरेक विषयमा अत्तो थापेर संस्थाभित्र उल्झन श्रृजना गर्ने हो भने अब पार्टीमा किन जित्नु पर्यो? चुनावमा उठ्यो पराजित भयो, त्यसपछि हरेक विषयमा भागवण्डा र अत्तो थाप्यो र नेतृत्वलाई कसरी हुन्छ विफल बनाउन लाग्यो।’ पाैडेल पक्षले लिएकाे अडानप्रति देउवा पक्षका कतिपय सदस्यहरूले विराेध जनाउँदै असन्तुष्ट पक्षकाे सम्पूर्ण ध्यान पार्टी संगठन कसरी बलियाे बनाउने भन्दा पनि देउवालाई कसरी विफल बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेकाे आराेप लगाए।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update