सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको निरिहताप्रति कडा आपत्ती जनाएका छन्।
शनिबार संसदीय दलको बैठकमा धारणा राखेपछि सञ्चारकर्मीसंग कुरा गर्दै रावलले सार्वभौम देशको अधिकार भित्रको रक्षा सरकारले गर्नुपर्ने भन्दै कसैको दबाबका कारण विषादी परीक्षण रोक्ननहुने जिकिर गरे।
विश्व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार नै कुनै पनि देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्चित मापदण्ड तोक्न पाउने व्यवस्था गरिएको उनले बताए।
उनले आयात हुने तरकारी तथा फलफूलको अवस्था जाँचबुझ गर्ने यसअघिको सरकारको निर्णय सही भए पनि फिर्ता लिने निर्णयले सरकारले जनताप्रतिको कर्तव्य निर्वाहाबाट विमुख देखिएको आरोप लगाए।
रावल लगाएत अन्य नेताहरुले संसदीय दलको बैठकमा यस बिषयमा आवाज उठाएपछि प्रधानमन्त्री केपी ओलीले प्राविधिक तयारीपछि मुलुकमा भित्रिने र मुलुकभित्र उत्पादन हुने तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गरिने जानकारी दिएका थिए।
भारतले चर्को दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषदले सीमामा तरकारी तथा फलफूलको विषादी जाँच्ने निर्णय फिर्ता लिएको थियो।
यसअघि सरकारले गत जेठ १० गते भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय