हिमाल दैनिक
नेपाली कांग्रेसको आइतबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा एक दर्जन भन्दा बढि एजेण्डा छलफल र निर्णयका लागि पेश गर्ने तयारी भइरहेको छ। पार्टीको ०७२ फागुनमा सम्पन्न १३औं महाधिवेशन पश्चात कांग्रेसको वर्तमान नेतृत्वले सम्भवतः पहिलो पटक यति धेरै एजेण्डामाथि छलफल र निर्णयको तयारी गरेको हो। पार्टी सभापति शेरबहादुर देउवाले असार २२ गतेदेखि बस्ने गरी बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे पार्टी पदाधिकारीहरुको चरणबद्ध अनौपचारिक बैठकले सूचि नै तयार पारेको छ। जसमा सभापति देउवाले पार्टी पदाधिकारी तथा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गरी क्रमबद्ध रुपमा बैठकमा पेश गर्ने तयारी गरिरहेका छन्। यसका लागि सभापति देउवाले शनिबार बिहान आफ्नै निवासमा पार्टी पदाधिकारी र वरिष्ठ नेता पौडेललाई बोलाएका थिए। तर, राजधानी बाहिर चितवनमा रहेको पौडेल काठमाडौं फर्किन ढिला भएपछि नेताहरुले पौडेलसँग टेलिफोन सम्पर्क गरी प्रस्तावहरुको बारेमा जानकारी दिएको स्रोतले बतायो। आइतबार बिहान ११ बजेको बैठक अपरान्ह साढे २ बजेका लागि सार्दै सभापति देउवाले भोलि नै अपरान्ह १ बजे पौडेलसहित अन्य पदाधिकारीहरुसँग बैठकमा प्रस्तुत हुने एजेण्डाबारे थप परामर्श गरी टुंगो लगाउने तयारीमा रहेकाछन्। भोलिको बैठकमा सभापतिले विषय प्रवेश गराउँदै पहिलो एजेण्डाका रुपमा पार्टीको महासमिति बैठकपछि केन्द्रीय कार्यसमितिद्धारा पारित विधान बमोजिम तयार पारिएको नियमावली संशोधन मस्यौदा पेश गर्न समय दिने तयारी भइरहेको छ। नियमावली मस्यौदा समितिका संयोजक तथा केन्द्रीय सदस्य रमेश लेखकले समितिले तयार पारेको नियमावली मस्यौदा छलफलका लागि भोलिको बैठकमा प्रस्तुत गरेपछि त्यसबारे अध्ययन गर्न केन्द्रीय सदस्यहरुलाई एक दिनको समय दिने र असार २४ गतेदेखि त्यसमाथिको छलफल सुरु गर्ने तयारी भइरहेको स्रोतले बतायो। नियमावलीमाथि छलफल र निर्णय पश्चात दोस्रो एजेण्डाका रुपमा कांग्रेसको संशोधित विधानको दफा ७२ को उपदफा (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्थाबारे छलफल गराउने तयारी भइरहेको छ। असन्तुष्ट पक्षले पार्टीभित्र विभिन्न जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश र स्थानीयत तहमा विधान विपरित पार्टी सभापति देउवाले तदर्थ समिति बनाउने तयारीमा लागेको आरोप लगाउँदै पछिल्लो समय उनीविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। तर, सभापति देउवाले विधानको दफा ७२ को उपदफा (४) स्पष्ट उल्लेख गर्दै केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि प्रस्ताव राखेर असन्तुष्ट पक्षको आरोप गलत सावित गराउने तयारीमा लागेको देउवा निकट नेताहरुको दाबी छ। कांग्रेसको नयाँ विधानको उक्त दफामा पार्टी संगठनको अन्तरिम व्यवस्थासम्बन्धी प्रावधान उल्लेख छ। जसमा नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण पश्चात सीमांकन हेरफेर भएका निकायमा यसअघिको महाधिवेशनमा वडादेखि जिल्ला र महासमिति, महाधिवेशन प्रतिनिधिहरुले सम्बन्धित निकायको कार्यसमिति गठन गर्ने उल्लेख छ। उक्त विषयमा भोलिदेखि हुने बैठकमा छलफल पश्चात निर्णय भएमा कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण सुरु हुनु अगावै अर्थात भदौ २४ अगाडि नै सीमा परिवर्तन भएका वडा, गाउँपालिका÷नगरपालिका, प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमिति गठन गर्ने तयारी नेतृत्वले गरिरहेको छ।   त्यसैगरी भोलिबाट सुरु हुने बैठकको अर्को महत्वपूर्ण प्रस्तावको रुपमा पार्टीको सक्रिय सदस्यता नविकरण तथा वितरणको विषय रहेको छ भने पार्टीले हालै सम्पन्न गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा र त्यसको प्रतिवेदनमाथिको छलफल अर्को महत्वपूर्ण छलफलको विषय रहेको छ। उक्त अभियानको एकीकृत प्रतिवेदनमाथिको छलफलका आधारमा पार्टीले भदौ २४ देखि असोज ७ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानको प्रारुप तयार हुने छ। बैठकमा पेश हुने एजेण्डाको सूचि र बोल्ने सदस्यको संख्याका कारण लामै समय चल्न सक्ने बैठकको अर्को महत्वपूर्ण प्रस्ताव उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति विवरण पेश गर्ने छ। त्यसैगरी भीष्मराज आङदम्बेको नेतृत्वमा रहेको केन्द्रीय अनुशासन समितिको कार्य प्रगति प्रतिवेदन पेश हुने छ। सातौं एजेण्डाको रुपमा कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनको विषयबारे छलफल गराउने तयारी नेतृत्वले गरिरहेको छ। त्यसैगरी संविधान र पार्टीको संशोधित विधान बमोजिम विभिन्न भातृ संस्थाको विधान संशोधनको विषयदेखि पार्टी विधान बमोजिम अवधि समाप्त भएका भातृ संस्था तथा शुभेच्छुक संस्थाको विषयमा पनि छलफलको तयारी भइरहेको छ। पार्टीको नयाँ विधानको दफा ४२ को (च) अनुसार, कुनै पनि भातृ संस्थाले विधान अनुसार तोकिएको समयभित्र केन्द्रीय अधिवशेन गर्न नसकेमा त्यस्ता भातृ संस्थाको कार्यसमिति स्वतः विघटन हुने र पार्टी केन्द्रीय कार्यसमितिले तत्काल महाधिवेशन गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ। उक्त प्रावधान अनुसार, कांग्रेसका १३ वटा भातृ संस्थामध्ये नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल भूतपूर्व सैनिक संघ, मुस्लिम संघ नेपाल र नेपाल राष्ट्रिय मगर संघबाहेक सबैको म्याद सकिएको छ। यसका अतिरिक्त भोलिदेखि बस्ने बैठकमा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेदेखि समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ। त्यसैगरी विवादित र अवधि समाप्त भएका विदेशस्थित जनसम्पर्क समितिको विषयबारे पनि पार्टीभित्र छलफल हुने भएको छ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update