हिमाल दैनिक
सरकारले इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्डको सन्दर्भ सरकारसँगको विषय नभई निजी मामिला भएको स्पष्ट पारेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइफा अवार्डबारे सरकारसँग जोडेर अनर्गल प्रचार गरिएको भन्दै यो सरकारको नभई निजी क्षेत्रको विषय भएको बताए। हालै भएको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले आइफा अवार्डका विषयमा छलफल गर्नका लागि सैद्धान्तिक स्वीकृति मात्र दिएको उल्लेख गरे । उनले भने,
“आइफाबारे नेपाललाई लाभ हुन्छ, भने छलफल गर्नका लागि सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो । कुन विधि र प्रक्रियाबाट टुङ्गोमा पुग्ने भन्ने बाँकी नै थियो । यो एउटा ‘इभेन्ट विजनेश’को प्रश्न हो । त्यसमा सरकारले यति नै पैसा दिने भनेको थिएन, त्यसको फाइदा, घाटाका आधारमा निर्णय गर्नुपर्ने हुन्थ्यो । प्रस्ताव आउँदैमा आकासै खसेजस्तो गर्नुपर्ने थिएन ।”
उनले आइफाका लागि सरकारले पैसा दिने नभई सुरक्षा दिने मात्र भनेको उल्लेख गर्दै संसदीय समितिले दिने निर्णय निर्देशन विषय वस्तुको गहिराइमा पुगेर लिनुपर्ने धारणा राखे । सरकार एकपछि अर्को निर्णय गर्दै पछि हट्दै गइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले सम्पूर्ण विषयको निरुपण गनै संवैधानिक र कानून निर्माण गर्ने थलो संसद् भएकाले उसको निर्णयलाई सरकारलगायत सबैले सम्मान गर्नुपर्ने धारणा राखे ।
“सरकार एउटा प्रक्रियाबाट बन्छ, जुनसुकै सरकार भए पनि सरकारले गर्नुपर्ने काम आफ्नो ढङ्गले अघि बढाउने हो । संसद्मा पेश भएका कतिपय विषयबारे भन्नुपर्दा हाम्रो सम्पूर्ण कुराको समाधानको थलो संसद् हो । संसद्को सार्वभौमिकतालाई हामी सबैले सम्मान गर्नुपर्छ तर एउटा विचित्र के देखिन थालेको छ भने विषय वस्तुमाथि छलफल गर्नुभन्दा पनि दृष्टिकोणका आधारमा बहस र विवाद तीव्र बनाउने र भ्रम सिर्जना गरिदिने प्रवृत्ति देखा परेको छ, यसले नागरिकमा भ्रम फैलाएको छ”,
उनले भने ।रासस
प्रकाशित मिति: सोमबार, असार १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update