हिमाल दैनिक
राष्ट्रियसभामा ‘विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको बिहिबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालयका लागि विनियोजन रकम तथा कार्यक्रममाथिको छलफल भएको थियो । छलफलमा भाग लिदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताए। उनले सङ्घीय सरकारले ठूलो योजनाका काम अगाडि बढाएर स्थानीय सरकारलाई बलियो बनाउने र केन्द्रलाई पनि बलियो बनाउने कुरामा ध्यान केन्द्रित गरेको स्पष्ट पारे । बैठकमा नेपाली काङ्ग्रेसका रमेशजङ्ग रायमाझीले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सांसद रायमाझीले टिकट किन्न जाँदा छैन भन्ने तर जहाजमा सिट खाली हुने खालको अवस्थाले नेपाल वायुसेवा निगमको कामकारवाहीको गम्भीरताप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए। विनियोजन विधेयक २०७६ का विभिन्न शीर्षकमाथि भएको छलफलमा सांसदले उठाएको जिज्ञासाको शुक्रबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यक्रम छ । सम्बन्धित मन्त्रीलाई जवाफ दिनका लागि यही असार २०, २२ र २३ गतेको दिन निर्धारण गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। राष्ट्रियसभाको अर्काे बैठक यही असार २० गते बिहान ११ बजे बस्ने छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update