![त्रिवि पदाधिकारी भन्छन्ः ६० अंक पनि थप्यौँ गोल्ड मेडल पनि दियौ](https://himaldainik.com/wp-content/uploads/2019/06/CKK_KTM_SikchaySamiti1-e1562069963673.jpg)
त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ।
सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा त्रिवि रजिष्टार डिल्लीराम उप्रेतीले कर्मचारीको बदमासीका कारण त्यस्तो घटना हुन पुगेको स्वीकार गरेका हुन्।
त्रिविले ९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको पाइएको थियो । उनले उक्त विद्यार्थीले गोल्डमेडल नै प्राप्त गरेको भन्नेमा सत्यता रहेको बताए।
उनले त्रिविको साख जोगाउनका लागि यस्ता गलत कार्य रोक्न र आगामी दिनमा हुन नदिन अन्य विभागमा पनि यस्ता गलत कार्य भएका छन कि भनेर अध्ययन गर्ने तयारी गर्ने बताए। रजिष्टार उप्रेतीले बिद्यार्थीले परिक्षा दिइसकेपछि उत्तरपुस्तिकालाई एकीकृत गरेर सम्बन्धित परीक्षा केन्द्रले परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्था रहेको बताए।
आफूहरुले नै आन्तरिक रुपमा नम्बर थपिदिने लगायतका गलत कार्यका सन्दर्भमा प्रतिवेदन बनाएर अख्तियारमा बुझाइएको रजिष्टार उप्रेतीले जानकारी बताए।
समितिमा सदस्यहरुले गोल्डमेडलका लागि नम्बर थप्ने र किनबेच गर्ने घटनाबाट त्रिविको शिक्षा प्रणालीमाथि नै प्रश्न उठेको बताएका थिए। त्रिवि पदाधिकारीको मिलेमतोमा नम्बर थपेर गोल्डमेडल लिने घटनाका सम्बन्धमा ठोस कदम चाल्नुपर्नेमा उनीहरुको जोड थियो।
समितिकी सभापति जयपुरी घर्तीले गोल्डमेडल किनबेचको घटनालाई समितिले गम्भीररुपमा लिएको भन्दै कमजोरी कहाँबाट भएको हो, त्यसलाई सुधार गर्न निर्देशन दिए। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय