हिमाल दैनिक
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) का लागि सरकारले कुनै पैसा दिने निर्णय नगरेको जानकारी दिएका छन् । विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा विज्ञापनसम्बन्धी एकीकृत रुपमा व्यवस्था भएको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उनले यस्तो जानकारी दिएका हुन् । यसअघि विभिन्न देशमा भइसकेको कार्यक्रम नेपालमा गर्न स्थान, सुरक्षालगायत सहयोग सरकारले गर्न लागेको उनले बताए। कार्यक्रम हुँदा सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने मन्त्री बाँस्कोटाले स्पष्ट गरे। उनले ‘क्लिन फिड’ का साथै ‘होर्डिङ बोर्ड’ का माध्यमबाट हुने अवाञ्छित प्रचारलाई विधेयकमार्फत रोक्न खोजिएको जानकारी दिए। अन्तरनिर्भर विश्वमा बहुराष्ट्रिय कम्पनीका मालवस्तुको विज्ञापन गर्दा नेपाली कलाकार, प्रकृति र आमसञ्चार माध्यमको प्रयोग हुनुपर्नेमा उनले जोड दिए । लोकहित र प्राकृतिक प्रकोपका बेलामा त्यससम्बन्धी निःशुल्क विज्ञापन गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । विज्ञापन व्यवस्थित गर्ने निकायका रुपमा बोर्ड गठन गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । बैठकमा सांसदहरुले आइफाको कार्यक्रम गर्न किन सरकारले अनुमति दिएको भनी प्रश्न गरेका थिए ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update