हिमाल दैनिक
‘संमृद्ध नेपाल, सुखी नेपाली’ नारा लिएर अघि बढिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीविरुद्ध स्वयं उनैको दलका सांसदहरुले समेत गम्भिर असन्तुष्टि व्यक्त गरेका छन्। विगत डेढ वर्षयता सरकारको नेतृत्व गरेपछि संसदीय दलको बैठकमा सांसदहरुलाई विरलै बोल्न समय दिँदै आएका प्रधानमन्त्री ओलीले आजकोे बैठकमा बोल्न समय दिएपछि सांसदहरुले पार्टी र सरकारको नेतृत्वको कार्यशैलीको चर्को आलोचना गर्ने जमर्को गरे। संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले अहिलेकै गति र मतिले समृद्धिमा पुग्न नसकिने भन्दै राष्ट्रिय नीति नै बनाउन सुझाव दिएको एक नेताले बताए। विगत एक वर्षलाई संमृद्धिको आधार वर्ष भएको भन्दै नेतृत्वले सरकारको कार्यशैलीको प्रतिरक्षा गर्दै आएपछि नेकपा सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिए। आफूहरुलाई जिम्मेवारी नदिएका कारण सरकारका काम–कारबाही जनतासम्म पुग्न नसकेको गुनासो गर्दै सांसदहरुले बजेट विनियोजन निष्पक्ष र समानुपातिक नभएको भन्दै सरकारमा रहेका नेताहरुको आलोचना गरेका थिए। उनीहरुले मन्त्री र शक्तिशाली सांसदहरुको क्षेत्रमामात्रै बजेट विनियोजन गरेको गुनासोसमेत गरेका छन्। बैठकमा सहभागी केही सांसदहरुले भने पार्टी सञ्चालनको अहिलेको प्रक्रिया नै उचित नभएको भन्दै पार्टी र सरकारलाई प्रभावकारी बनाउन सञ्चालन पद्धति परिवर्तन गर्न आग्रह गरे। बैठकको सुरुमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका एजेन्डाबारे जानकारी गराएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए। विगतमा एकपक्षिय रुपमाले बैठक हुँदै आएकोमा आजको बैठकमा भने सांसद र नेताहरुबीच पहिलो पटक दोहोरो छलफल भएको बताउँदै २९ जना सांसदहरुले आफ्ना धारणा राखेको जानकारी दिए। उनीहरुले सरकारको काम कारबाही, सदनमा प्रस्तुत गुठी विधेयक लगायतका अन्य विधेयकमा कहाँ कहाँ के कसरी कमिकमजोरी रह्यो भन्ने विषयका अतिरिक्त सरकारलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव आएको बताए। पार्टी सरकार तथा बिधेयकका बिषयमा भएका कमकमजोरीका बारेमा पनि गम्भीर छलफल भएको उनले बताए। त्यस्तै सांसद देव गुरुङले बैठकमा अध्यक्षद्वयले पार्टीको एकताको काम छिटो टुङ्ग्याउने जानकारी दिएको बताए। सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै बैठक बोलाइएको हो। सांसदहरुले धारणा राख्ने क्रम नसकेपछि संसदीय दलको बैठक असार २१ गते पुन बस्ने नेताहरुले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update