हिमाल दैनिक
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको करिब दुई वर्षे कार्यकाल निराशाजनक काम कारबाहीका कारण परिवर्तनका उपलब्धीमाथि नै प्रहार गरी देशलाई पश्चगमनमा धकेल्ने खतरा बढेको दाबी गरेका छन्। असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर आफ्नै निवासमा पत्रकारहरुसँग दहि चिउरा खाँदै नेता सिटौलाले भने, ‘सरकारको काम कारबाही हेर्दा समग्र परिस्थिति राम्रो देखिएको छैन। राजनीतिक परिवर्तनबाट आएको संविधान र त्यसको आधारमा स्थापित संवैधानिक व्यवस्थामाथि नै प्रहार हुन थालेको छ।’ जनताका भावनाहरुको सम्बोधन परिवर्तन पश्चात बनेको सरकारले गर्न सक्दछ भन्ने विश्वासको प्रवाह जनतामा हुन नसकेको बताउँदै संसदभित्र पनि संसदीय व्यवस्था सुदृढ गर्ने हिसाबले परिवर्तनकारी शक्तिहरुले आफ्नो भूमिका केन्द्रित गर्न नसकेको उनले बताए। त्यसको अतिरिक्त परिवर्तनका विरोधी दक्षिणपन्थी र राजावादी शक्तिहरुसँगै उग्रवामपन्थी समूहको रुपमा नेत्रविक्रम चन्द समूहको गतिविधि द्रुतगतिमा बढेको बताउँदै उनले परिवर्तनकारी शक्तिहरु यसबारे समयमै सजग हुन जरुरी रहेको बताए। संघ, प्रदेश र स्थानीय तहमा समेत सत्तापक्षको एकलौटी बहुमत र बर्चश्व हुँदा पनि केन्द्रदेखि प्रदेश सरकारसम्मको जनभावना विपरितका गतिविधिको कारण जनतामा संघीयताप्रतिको विश्वास घटेर जाने सम्भावना बढेको पनि उनले बताए। नेपालको राजनीतिमा संघीयता नयाँ प्रयोग भएको बताउँदै संघीयताले देशलाई राजनीतिक स्थायित्व र आर्थिक संमृद्धि दिन सक्दछ भन्ने सन्देश जनतामा दिन नसक्दा यसप्रति जनताको मनोवल गिरेकोमा चिन्ता व्यक्त गरे। ‘केन्द्र र प्रदेश सरकारको गलत कार्यले जनताको मनोवल गिरेपछि सरकार र व्यवस्था कसरी बलियो र स्थायी हुन्छ?’ सिटौलाले प्रश्न गर्दै भने। त्यसैगरी स्थानीय तहमा पनि पर्याप्त स्रोत साधन र अधिकारका बाबजूद जनताको चाहना बमोजिमका काम भन्दा व्यथिति बढाउने र भ्रष्टाचार मौलाउने गरी भएका गतिविधिले समाजमा अर्को व्यथिति उत्पन्न गराउने सम्भावना बढेको उनले बताए। जनताको मनोवल गिराउने गरी केन्द्र र प्रदेश सरकारले काम गर्न नहुने सुझाव दिँदै उनले सरकारलाई अहिलेसम्मको कमिकमजोरीको समिक्षा गरी विगतका गल्ती र कमिकमजोरी नदोहोर्याउनेगरी काम गर्न पनि सल्लाह दिए। देशमा वाइड बडी प्रकरणदेखि अनेकन भ्रष्टाचार र व्यथितिका गतिविधिहरु बढिरहँदा पनि सरकारले यसबारे कुनै विश्वसनिय छानविन नगरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भने, ‘राज्य सञ्चालकहरुसँग काम गर्ने क्षमता नहुँदा उनीहरुको कमजोरीकाकारण व्यवस्थामाथि प्रश्न उठेको छ। सरकारमा जतिसुकै बहुमत भएपनि राज्य सञ्चालनको क्षमता र कुशलतासँगै त्यसप्रतिको प्रतिबद्धता भएन भने व्यवस्था स्थिर हुँदैन।’ वितेको समयको समिक्षा गरी सरकारले गल्ती सुधार्दै राष्ट्रिय सहमतिका आधारमा व्यवस्थाप्रतिको बढ्दो अविश्वास हटाउन जरुरी भएको पनि उनले बताए। अहिलेको राजनीतिक परिवर्तनका प्रमुख शक्तिहरु सरकार र संसदभित्रै रहेको बताउँदै सिटौलाले यो परिवर्तनका उपलब्धीको रक्षा गर्न सत्ता र प्रतिपक्षी दुबैले एक ठाउँमा उभिएर जनताको भावना बमोजिम प्रभावकारी भूमिका खेल्ने सवालमा ढिलाई गर्न नहुने बताए। यसैगरी उनले आफ्नो पार्टीभित्र पनि विधान बमोजिम संस्था सञ्चालन गर्ने र संघीय संरचना बमोजिम संगठन निर्माण नगरी पार्टी बलियो नहुने बताए।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update