प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँसम्ममा सरकारमाथि लागेको आलोचना हट्ने दाबी गरेका छन्।
मदन भण्डारीको ६८औँ जन्मजयन्तिका अवसरमा शनिबार काठमाडौंमा आयोजित ’विचार गोष्ठी’ मा प्रधानमन्त्री ओलीले सरकारले जनता र मुलुक केन्द्रित काम गरेको भन्दै दशैँसम्म पुग्दा सरकारप्रतिको आलोचना र असन्तुष्टि समाप्त हुने बताए।
नेकपाका अध्यक्ष समेत रहने ओलीले नेकपा ’जनताको जनवाद’ सिद्धान्त लिएर अगाडि बढेका प्रष्ट पारे।
उनले यसै आर्थिक वर्षभित्रै पार्टी एकीकरण प्रक्रिया पूरा हुने दाबीसमेत गरे।
यो आर्थिक वर्ष सकिन अझै १५–१६ दिन बाँकी रहेको भन्दै यसबीचमा पार्टी एकीकरण प्रकिया पूरा हुने विश्वास उनले व्यक्त गरे।
ओलीले दुबै अध्यक्ष आ–आफ्नो अभिभाराअनुसार मिलेर अगाडि बढिरहेको दाबी पनि गरे।
प्रधानमन्त्री ओलीले सरकारले अहिले राम्रो काम गरिरहेको बताउँदै लोकतन्त्रको रक्षा गरी सुदृढ पार्न र संविधानको कार्यान्वयन मार्फत सुशासन र विकासको लक्ष्य हाँसिल गर्ने कुरामा सरकार स्पष्ट र दृढ रहेको बताए।
प्रधानमन्त्री ओलीले गएको वर्ष नयाँ कानून निर्माणमा खर्चिएको जिकिर पनि गरे।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारको नेतृत्व असफल भयो भने देश नै खतरामा पर्ने बताए।
पार्टी सुदृढ पार्ने, सरकारलाई सफल पार्ने, जनआकांक्षालाई सम्बोधन गर्ने कुरामा असफल भए आफूहरु मात्रै वा नेपाल कम्युनिष्ट पार्टीको मात्रै असफलता नहुने उनलको जिकिर थियो।
दाहालले कम्युनिष्ट नेतृत्व असफल भएमा कांग्रेसले समेत नेतृत्व गर्ने स्थिति नआउने धारणा राखे।
नेपालमा ठूल्ठूला राजनीतिक घटना भइरहे पनि त्यसको रहस्य पत्ता लगाउने र रोक्न नेतृत्व असफल रहेको दाहालले स्वीकार गरे।
तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारीको हत्या नै भएको सबैले भनिरहे पनि छानबिनले पूर्णता नपाएर किटान गर्न नसकिरहेको दाहालले बताए।
भण्डारीको दासढुंगामा रहस्यमय ढंगले निधन भएपछि तत्कालिन एमाले नेता एवं वतृमान प्रधानमन्त्री ओली नेतृत्वमा गठित छानविन समितिले त्यतिबेला आफ्नो सुरक्षा प्रत्याभूति भए हत्यारा पत्ता लगाइदिन सक्ने बताएका थिए।
तर, उनै भण्डारीकी पत्नी विद्यादेवी भण्डारी देशको राष्ट्रपति र ओली प्रधानमन्त्री बनेर मुलुक सञ्चालन भइरहेको बेला उनीहरुले यस घटनाबारे कुनै औपचारिक धारणा बाहिर ल्याएका छैनन्।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय