नेपाली कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको झण्डै २० महिनापछि फोरमबाट सहभागी गराइएका महासमिति सदस्यहरुको नामावली विवरण सम्बन्धित जिल्लामा अध्यावधि हुने भएको छ।
दुई पार्टीबीच भएको एकीकरण पश्चात सांगठनीक संरचना समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्न गठित समायोजन समितिको शुक्रबार बसेको बैठकले मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेस महासमिति बैठकमा तत्कालिन फोरम अध्यक्ष विजयकुमार गच्छदारले सिफारिस गरेका दुई सय जना महासमिति सदस्यहरुको नाम सम्बन्धित जिल्लाहरुमा पठाई अभिलेख गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो।
समायोजन समितिका संयोजक तथा उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा बसेको समितिको बैठकले गच्छदारद्धारा गत चैत २८ गते उपलब्ध गराएको फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यहरुको सूचि भने सम्बन्धित जिल्लामा पठाई दुई हप्ताभित्र छानविन गरी निर्णय पठाउन निर्देशन दिएको छ।
जिल्ला स्तरिय छानविन समितिमा कांग्रेसका जिल्ला सभापति, साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, तत्कालिन लोकतान्त्रिक फोरमका जिल्ला सभापति र क्षेत्रीय सभापति वा सभापति नभए उपसभापति वा गच्छदारले तोकेको प्रतिनिधि संलग्न रहने छन्। उक्त समितिको अध्यक्षता भने कांग्रेस सभापतिले गर्ने उल्लेख गरिएको छ।
फोरमसँगको एकता सम्बन्धी बाँकी प्रस्तावका विषयमा छलफल जारी रहेको बताउँदै हाल सम्म भए गरिएका कार्यको प्रगति सम्बन्धी प्रतिवेदन असार २२ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय