राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बी.पी. कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीको मार्गदर्शनको रुपमा लिँदा नेपाली कांग्रेस छट्पटाउन नपर्ने जिकिर गरेका छन्।
राप्रपाले शुक्रबार राजधानीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले बी.पी.को विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पिडा र छटपटी हुनु विडम्वनापूर्ण भएको बताए।
कांगे्रस र कम्यूनिष्टप्रति जनताको मोह भंग हुँदै गएको बताउँदै राप्रपाले अघि सारेका एजेण्डाप्रति सहमत हुँदै सयौंको संख्यामा पार्टी प्रवेश हुनुले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने शुभ संकेतको आरम्भ भएको दाबी थापाले गरे।
एकता महाधिवेशनलाई आधार मानेर विलम्व नगरी पार्टी एकतामा आउनका लागि पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनीलाई आग्रह गर्दै अध्यक्ष थापाले मुलुकको पछिल्लो तरल राजनीतिक अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति देशले खोजिरहेको बताए।
नाममा लोकतन्त्र तर व्यवहार भने सर्वसत्तावाद तर्फ उन्मुख भएको भन्दै गरिबी र बेरोजगारीका वावजुद भ्रष्टाचार महारोगको रुपमा पछिल्लो समय देखिएको उनले बताए।
कांग्रेस र कम्युनिष्टको वैचारिक असफलताको विरुद्धमा सम्बर्धनवादको वैचारिक दर्शन अब जनताको रोजाइ हुने उनको दाबी थियो।
कार्यक्रममा दुई सय पचास जना व्यक्तिहरु राप्रपा संयुक्त छाडेर राप्रपामा प्रवेश गरेको राप्रपाले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय