हिमाल दैनिक
कञ्चनपुरमा हालै भएको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभामा विरोध जनाएको छ। शुक्रबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानले नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको भएपनि सरकार र यसका मन्त्रीले राज्य संयन्त्रको दूरुपयोग गरी दमन गरेको आरोप लगाए। सरकारले नागरिकका अधिकार कुण्ठित गर्ने कोशिश जारी रहे यसको भारी मूल्य सरकारले चुकाउनु पर्ने चेतावनी उनले दिए। सरकारका मन्त्रीविरुद्ध बर्दियामा कालो झण्डा देखाउने रामनरेश यादवलाई पक्राउ गरी थुनामै रहस्यमय मृत्यु भएको, बुटबलमा प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाउनेलाई पक्राउ गर्न प्रधानमन्त्रीले नै निर्देशन दिएको अराोप लगाए। यसैक्रममा पछिल्लो समय कञ्चनपुरमा स्थानीय नागरिकले निर्मल पन्तको घटनाको विषयमा खानेपानी मन्त्रीलाई ध्यानाकर्षण गराउन विरोध गर्दा राज्यले दमन गरेको भन्दै उक्त घटनामा घाइते भएका कांग्रेसका जिल्लास्तरिय नेता कार्यकर्ताको उपचारको माग गरे। तत्कालिन कांग्रेस नेता तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ०४८ सालमा बुटबलमा कालो झण्डा देखाउँदा उनीहरुलाई सुरक्षाकर्मीले पक्रन खोज्दा कोइरालाले रोकेर आफू त्यहि कालो झण्डा देखाउने अधिकारका लागि लडेको भने जस्तै अहिलेको प्रधानमन्त्रीले त्यो सहास देखाउन सक्नु पर्ने सुझाव दिए। त्यसैगरी खाँणले इटहरीका मेयरले महिलाहरुको अपमान हुनेगरी दिएको अभिव्यक्तिप्रति पनि आपत्ति प्रकट गर्दै महिलाको मर्यादा कायम गर्न माग गरे।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update