सरकारले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएका पाँच भारतीय नागरिकको नागरिकता रद्द गरेको छ।
बिहिबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले धनुषा, सप्तरी र रौतहट जिल्ला प्रशासन कार्यालयबाट जारी भएका ती नागरिकता रद्द गर्ने र उनीहरुलाई नागरिकता दिलाउन संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय गरेको जानकारी दिए।
सप्तरी जिप्रकाबाट जारी भएको जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट जारी भएको जमुना राउत भन्ने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता रद्द गरेको हो।
बैठकले सवारी तथा यातायत व्यवस्था ऐन, २०४९ खारेज गरी संघीय सवारी तथा यातायात व्यवस्था सम्बन्धी विधेयक, २०७६ तर्जुमा गर्न सैद्दान्तिक स्वीकृत दिएको छ।
त्यस्तै पाँच जना प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरिएको उनले बताए।
फाजिल रहेका विविध सेवा रा.प. तृतीय श्रेणीका ६० जना अधिकृतलाई प्रदेश र स्थानीय तहमा रिक्त रहेका मिल्दो पदमा समायोजन गर्ने निर्णय गरिएको छ भने राष्ट्रियस्तरमा ‘वृक्षारोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता बास्कोटाले जानकारी दिए।
बैठकमा बास्कोटाले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको समूह क्रान्तिकारी नभई प्रतिक्रान्तिकारी भएको टिप्पणी गरे।
सर्लाहीमा मारिएका नेकपाका जिल्ला इञ्चार्जको मृत्युको विषयमा सोधिएको प्रश्नमा उहाले विप्लव समूह भनेर चनिने समूहको संविधान विरोधी क्रियाकलापहरु हिंसाजन्य गतिविधिप्रति नियन्त्रण गर्न सरकार संवेदनशील भएको बताए।
उनले कुनै पनि राजनीतिक दलमाथि प्रतिबन्ध नलगाइएको दाबी पनि गरे।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय